धारासहितको खानेपानी आयोजना निर्माण, सुविधाले फेरियो स्थानीयवासीको दैनिकी

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारासहितको खानेपानी आयोजना निर्माण भएपछि स्थानीयवासीको दैनिकी फेरिएको छ । खानेपानीका लागि मुहान, कुँवा र धारामा जाँदा हुने समयको बचत, सरसफाइमा सहयोगका साथै दैनिकी फेरिएको हो । बेनी नगरपालिका–१ लामगराकी इन्द्र घर्तीले आँगनमै धारा बनाएपछि गाग्री, ग्यालिन र बाल्टीमा सार्वजनिक धाराबाट पानी ल्याउँदा हुने समयको बचत र दुःख हटेको बताए ।

“पहिले सार्वजनिक धाराबाट छिमेकमा पालो लगाएर पाइपमा पानी ल्याएर उपभोग गरिएको थियो”, उनले भने , “आँगनमै मिटर जोडेको धारा बनाएपछि आवश्यक परेको समयमा सहजै पानी प्रयोग गर्न पाएका छौँ ।” बेनी नगरपालिकाको रु तीन लाख अनुदान सहयोगमा गत आर्थिक वर्ष २०७७-७८ मा लामगराका ३१ घरमा मिटर जडित निजी धारा निर्माण र पुरानो मुहान तथा वितरण प्रणाली सुधार गरिएको थियो ।

झाँत्रीथान, नर्सरी, जलकुनेको मुहानको पानीलाई एकीकृत गरेर स्थानीयवासीको थप रु तीन लाख बराबरको श्रमदान र लागत साझेदारीमा निजी धारा जडान पानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष हेमराज शर्माले बताए । “पाँच वटा सार्वजनिक धाराले घरघरमा पाइपबाट पानी लैजाँदा अभाव हुने गरेको थियो”, उनले भने , “निजी धारा र धेरै मुहानको पानी एकीकृत गरेपछि अहिले फालाफाल भएको छ ।” बेनी नगरपालिका–१ सालघारीकी सरस्वती किसानले निजी धारासहितको खानेपानी योजना निर्माण भएपछि दैनिकी सहज भएको बताए ।

“पहिला टाढा पुगेर, घण्टौँ । पालो पर्खिएर पानी ल्याएर उपभोग गरेका थियौँ । फोहर हुन्थ्यो । सफा पानी खान पाइएको थिएन्”, उनले भने , “घरमै बनेको धारामा नियमित पानी आउन थालेपछि सुविधा भएको छ ।” बेनपा–१ का वडाध्यक्ष टेकबहादुर रावलका अनुसार दलित समुदायको बाहूल्यता रहेको सालधारीमा रु ११ लाख अनुदान सहयोगमा ६० घरमा निजी धारा निर्माण, पुरानो ट्याङ्की र वितरण प्रणालीलाई व्यवस्थित गरिएको थियो । त्यस्तै ६२२ घरधुरी रहेको रत्नेचौरका सबै बस्तीमा निजी धारासहितको खानेपानी सुविधा विस्तारका लागि आयोजना सञ्चालन गरिएको उनले बताए ।

सारेमारेका ३० र सिमका २७ वटा घरमा पनि निजी धारा जडान गरेर खानेपानी वितरण भइसकेको छ । आनन्दबगरमा निजी धारासहितको खानेपानी योजना निर्माण गर्न चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन भएको छ । घरआँगनमा नै निजी धारा जडान गरेपछि खानेपानी प्रयोगमा मितव्ययिता अपनाएको सालघारीकी कुमारी किसानले बताए । मासिक रुपमा निश्चित शुल्क उठाएर खानेपानी आयोजना नियमित सञ्चालनका लागि कोष बनाएका छन् । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले दुई वर्षअघि सुरु गरेको रत्नेचौर लिफ्ट खानेपानी आयोजनाले गति लिनसकेको छैन् । प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ असार २४ गते रु दुई करोड ७५ लाख ३६ हजार ५०६ मा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, सङ्कलन, रिजर्भ र वितरण ट्याङ्कीलगायत संरचना निर्माण गरिसक्ने सम्झौता भएको आयोजनाको निजी धारा निर्माण अन्तिम चरणमा पुगे पनि ट्याङ्की, इनार, मुख्य पाइपलाईन विस्तारमा ढिलासुस्ती भएको स्थानीयवासी कृष्ण बोगटीले बताउनुभयो । उपभोक्ता समितिले गर्नुपर्ने काम भएपनि ठेकेदारले ढिलासुस्ती गरेको उनले बताए । सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ । ३० हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड ४।७ लिटर पानी ४५० मिटरमाथि सालघारीमा निर्माण हुने ११५ क्यूविक क्षमताको ट्याङ्कीमा खसालेर घरघरमा धारा जडान गरेर वितरण गरिने भएको छ । घर–घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने यो आयोजनाको वितरण लाइनको कूल दूरी १८.७ किलोमिटर छ । रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको खानेपानी आयोजनाको संरचना जीर्ण र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन नसकेपछि नयाँ लिफ्ट प्रविधिको योजना सुरु गरिएको हो ।

बेनी–१ कै अर्को ठूलो बस्ती अर्जममा खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयमार्फत निर्माणाधीन भकुण्डे, फापरखेत, अर्जम खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । विसं २०७२ देखि सुरु भएको यो आयोजनाको ट्याङ्की, मुख्य र वितरण लाइन, निजी धारा निर्माणको काम अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका सचिव छविलाल श्रेष्ठले बताए । अर्जमका १५० घरमा निजी धारा जडान गरेर चालु आर्थिक वर्ष भित्रनै खानेपानी वितरण गर्ने लक्ष्य रहेको उनले बताए । अर्जममा हाल सार्वजनिक धारामार्फत खानेपानी वितरण भएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्