एडिबीको २४ करोड लागतमा पाँचपोखरीमा नमूना विद्यालयको निर्माण सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको थाङपाल भ्याली मावि भवन निमार्ण सम्पन्न भएको छ । बागमती प्रदेशभित्र बृहत् विद्यालयका रुपमा सञ्चालनमा आउने सो विद्यालय प्रदेशभित्रकै दोस्रो विद्यालय  हो ।

पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टालटुलेश्वरी आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नं ४ स्थित थाङपालकोटमा एउटै नमूना विद्यालय बनाइएको हो ।
एसियाली बैंक एडिबीको २४ करोड लागत अनुमान अनुसार अहिले विद्यालयको सुविधा सम्पन्न पाँच भवन ब्लक निर्माण सम्पन्न भएको छ । गुणस्तरीय र प्राविधिक शिक्षालाई आत्मसात् गर्दै पालिकाले चार विद्यालयलाई गाभेर १२ कक्षासम्म सञ्चालन गर्ने गरी थाङपाल भ्याली मावि विद्यालय बनाएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

प्राकृतिक रुपमा सुन्दर तर भूगोलको हिसाबले विकट यो विद्यालयमा कम्प्युटर प्रयोगशाला, खाजाघर, छात्रावासको व्यवस्था, बालमैत्री संरचना तथा स्कुल बसको व्यवस्थापन हुनेछ । ग्रामीण भेग शिक्षाको गुणस्तर वृद्धि हुने देखिएपछि विद्यार्थीसँगै अभिभावक पनि खुसी छन् । गाउँपालिका र वडाको सहकार्यमा २६ रोपनी जग्गा व्यवस्था गरी ५६ कोठे पाँचवटा प्राविधिक भवन निर्माणको काम गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुन्दर सापकोटाले बताए । विद्यार्थी, शिक्षक र आवश्यक स्रोतको उचित समायोजनमा सहजताका साथै समयसापेक्ष शिक्षा प्रणालीमा ग्रामीण भेगका विद्यार्थीको पनि पहुँच पु¥याउने उद्देश्य रहेको उनको भनाइ छ ।

विद्यालय निर्माण गर्न केन्द्र सरकार, प्रदेश सरकार, जनप्रतिनिधि, वडावासी तथा आर्थिक सहयोग गर्ने एडिबीप्रति आफूहरु आभारी रहेको उनको भनाइ छ । यो भवन भोलि राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुँदैछ । पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै पाठ्यक्रम मेरो पाँचपोखरी तयार पारेर पठनपाठन सुरु गरेको छ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम गाउँपालिका आफैँले तयार गरी पठनपाठन सुरु गरेको हो । जिल्लाको दुर्गम भेग पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रमसहितको पाठ्यपुस्तक सञ्चालनमा ल्याएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्