तीर्थयात्री र पर्यटकको चाप बढेसँगै बेनी–जोमसोम सडकमा यातायात सञ्चालनको समय तालिका हट्यो

Ad
  • कालोपाटी सम्बाददाता

मुस्ताङ । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले चैते दसैँ सम्मका लागि सडकमा यातायात बन्द नगरिने जानकारी दिए ।

“मुस्ताङमा तीर्थयात्री र पर्यटकको चाप बढेपछि स्थानीय प्रशासनको अनुरोधमा चैते दसैँ सम्मका लागि समय तालिका हटाएका छौँ”, उनले भने , “सवारी आवतजावत प्रभावित नहुनेगरी सडक निर्माणलाई निरन्तरता दिने व्यवस्था मिलाएका छौँ ।” म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर, वडा नं २ नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिर खण्डमा बिहान ८ देखि ११ बजे र दिउँसो १ देखि ४ बजेसम्म सडकमा यातायात आवतजावत बन्द गरेर बिस्तार र निर्माणको काम गर्न समय तालिका बनाइएको थियो ।

यस वर्षको चैते दसैं पर्व चैत २६ गते परेको छ । चैते दसैँको समयमा मुस्ताङको कागबेनीमा दिवङ्गत आफन्तको स्मृतिमा पिण्डदान गर्ने चलन छ । भ्रमणको याम भएकाले स्वदेश तथा विदेशबाट मुस्ताङ घुम्न आएका पर्यटकको चाप पनि बढेको छ । मुस्ताङमा केही दिनयता दैनिक तीन हजार जनाको हाराहारीमा तीर्थयात्री र पर्यटक भित्रिएका छन् । विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङका छ खण्डमा निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्