सिन्धुपाल्चोक। सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गरेका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ र ५ जोड्ने मोटरेवरल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा सभामुख सापकोटाले ठूला विवादको पनि संवादबाट निकास निस्कने गरेको उल्लेख गर्दै संसद्को विवाद पनि संवादबाटै समाधान हुने उल्लेख गरे ।
कोभिड–१९, राजनीतिक र जलवायु परिवर्तनले निम्त्याएको सङ्कटका कारण यसबीचमा आम नागरिकसँग प्रत्यक्ष जोडिन र विकास निर्माणमा ध्यान दिन नसकिएको उल्लेख गर्दै सभामुख सापकोटाले अब अवस्थामा केही सहजता आएको बताए । जुगल गाउँपालिका–५ को चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयमा उनको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा सहभागी भएका सभामुख सापकोटाले शिक्षाले नै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । आधुनिक र सुविधा सम्पन्न विद्यालय भवनको सही सदुपयोग गर्न विद्यालय परिवार र सम्बन्धित पक्षलाई सभामुख सापकोटाले सुझाव दिए । चीन सरकारको सहयोगमा निर्माण सम्पन्न रत्नराज्य माध्यमिक विद्यालय देशकै नमूना विद्यालय मध्यको एक हो ।
सो अवसरमा विद्यालय परिवार र व्यवस्थापन समितिका तर्फबाट सभामुख सापकोटालाई विद्यालय भवन निर्माणको विशेष पहल र प्रयत्नका लागि आभार व्यक्त गर्दै संरक्षणका लागिसमेत पहल हुने विश्वास व्यक्त गरिएको थियो । सभामुख सापकोटा जुगल गाउँपालिका–२ गोल्चे बगरस्थित वडाकार्यालय परिसरमा आयोजना गरिएको ‘जनतासँग सभामुख’ कार्यक्रममा समेत सहभागी भए । सो अवसरमा उनले जनताको भावनाको सधैँ सम्मान गर्ने बताए । सभामुख सापकोटाले हाल स्तरोन्नति भइरहेको बलेफी जलविरे कात्तिके तेम्बाथान सडकखण्डको बलेफी खण्ड, हाल मर्मत सम्भार भइरहेको आँपबोटे जलविरे खण्ड र कालोपत्रको तयारी भइरहेको ढाँडे कात्तिके खण्डको निरीक्षण समेत गरे ।
बागमती प्रदेश पूर्वाधार कार्यालयका प्रमुख राजु श्रेष्ठसहितका सडक निर्माणमा संलग्न अधिकारीसँग निर्माणको अवस्थाबारे उनले जानकारी लिएका थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी बेधनिधि खनाल, सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन सुवालसहित सम्बद्ध अधिकारीको उपस्थिति थियो । -रासस