माछा संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले पाँच हजार भुरा छाडियो

Ad
  • कालोपाटी सम्बाददाता

पनौती । पनौती नगरपालिकाले माछा संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय लिलावती खोलामा विभिन्न जातको पाँच हजार माछाका भुरा छाडेको छ । उक्त खोलाअन्तर्गत आज नगरको वडा न १, २ र ३ नम्बरका विभिन्न स्थानमा माछाका भुरा छाडिएको हो ।

खोलामा राहु, नैनी र असला जातको माछाको भुरा छाडिएको नगरको कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । नगरप्रमुख भीम न्यौपाने, उपप्रमुख गीता बञ्जारा र वडाध्यक्ष गुणनाथ सापकोटालगायतले संयुक्तरूपमा खोलामा माछाका भुरा छाडेका थिए । नगरप्रमुख न्यौपानेले पर्यावरण र जैविक विविधताको संरक्षण तथा चराको आहारका लागि उक्त खोलामा माछा छाडिएको बताए ।

करेन्ट र विषादीको प्रयोगबिना परम्परागत तथा स्थानीय जातका उक्त खोलामा माछा संरक्षण गरी आम्दानीको स्रोत बढाउन सकिए नगरका अन्य खोलामा पनि माछाका भुरा छोडिने योजना बनाइएको छ । उक्त नगरको फुल्चोकी क्षेत्र ‘बर्ड–हव’ भएकाले माछाका कारण चराको सङ्ख्यामा वृद्धि हुनेसमेत अपेक्षा गरिएको छ ।

शाखा प्रमुख मणिप्रसाद सापकोटाका अनुसार उक्त खोलामा अध्ययन गरी चितवनबाट ल्याइएको तीन जातका माछाको भुरा छाडिएको हो । उनले उक्त खोलामा फोहर फाल्न, वडा कार्यालयको सिफारिसबिना ढुङ्गा तथा गिट्टी निकाल्नसमेत निषेध गरिएको बताए । हाल ‘फिङ्गर साइज’मा छाडिएको माछा एक वर्षसम्म मार्न नदिइने जनाइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्