कोभिड सङ्क्रमण बढ्न थालेपछि रुपैडिया क्षेत्रमा अपनाउन थालियो सतर्कता

Ad
  • कालोपाटी सम्बाददाता

बाँके । भारतमा कोभिड सङ्क्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए ।

गत चैत महिनामा छ हजार ४०० को एन्टिजेन परीक्षणमा चार पोजेटिभ देखिएका थिए तर अहिलेसम्म पोजेटिभ नदेखिएको उनले जानकारी दिए । सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ । “दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौँ”, उन भने । खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उनले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको जानकारी दिए । सो सीमा क्षेत्रबाट चार हजार ८०० खोप कार्ड भएका नागरिक नेपाल आवतजावत गरेका छन् ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजङ्ग शाहले स्वास्थ्य जाँचलाई सीमा क्षेत्रमा कडाइका साथ लागू गरिएको उल्लेख गर्दै केही साता यतादेखि स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन भएको बताउनुभयो । सङ्क्रमण बढेको अवस्थामा जिल्लामा कयौँको मृत्यु भएको थियो । भेरी अस्पताल, नेपालगञ्जका सूचना अधिकारी डा संकेत कुमार रिसालले अहिलेसम्म कोभिड सङ्क्रमणको विरामी नआएकाले शुन्य अवस्था रहेको उल्लेख गर्दै सर्तकता आवश्यक भएको बताए ।

“अहिलेसम्म कोभिडको कुनै विरामी आएको छैन ।”उनले भने । नेपालमा पनि सङ्क्रमण वढेपछि सरकारले सीमा क्षेत्रमा सर्तकता अपनाउन निर्देशन दिएको थियो । —रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्