स्थानीय निर्वाचन : कञ्चनपुरमा भोट माग्न घरदैलो अभियानमा उम्मेदवारहरु

Ad
  • कालोपाटी सम्बाददाता

कञ्चनपुर । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ । यहाँको भीमदत्त नगरपालिकामा नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवार महेशप्रसाद पन्त र उपप्रमुखका उम्मेदवार भुवन केसीले पार्टीका नेतासहित वडा वडामा घरदैलो अभियान सुरु गरिसकेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट नगर प्रमुखका उम्मेदवार राजेन्द्र पाण्डेय र उपप्रमुखका उम्मेदवार कृष्णदत्त जोशीले पनि टोलटोलमा पुगेर भोट मागिरहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसले भीमदत्त नगरपालिका–१ रौटेला मन्दिर छेउबाट घरदैलो कार्यक्रम शुभारम्भ गर्दैछ । “आज बिहानदेखि सुरु हुने घरदैलो अभियानमा नगरप्रमुख, उपप्रमुखका साथै केन्द्रीय सदस्यद्वय रमेश लेखक र यज्ञराज जोशीसहितको टोली सहभागी हुँदैछन्”, कांग्रेस भीमदत्त नगरसचिव राहुल भट्टले भने , “यहाँ वडा वडामा सम्र्पक कार्यालय र चुनावी गतिविधि सुरु भइसकेको छ ।” उनले घरदैलो तथा चुनावी कार्यक्रममा केन्द्रीय नेताको पनि उपस्थिति रहने बताए ।

यहाँका अन्य स्थानीय तहलमा पनि नेताहरुले घरदैलो अभियानमा जुटेका छन् । बेलौरी र पुर्नवास नगरपालिकामा पनि घरदैलो अभियान सुरु भइसकेको छ । एमाले बेलौरीका नगर उपाध्यक्ष महेश्वरी खत्रीले उम्मेदवारसहित आफूहरु घरदैलो अभियानमा खटिएको जानकारी दिए । “पहिलोपटक बेलौरीमा हामीले महिलालाई नगर प्रमुखको उम्मेदवार बनाएका छौँ”, उनले भने , “घरदैलो अभियान पनि सुरु गरिसकेका छौँ ।” पार्टीहरु विभिन्न चुनावी एजेण्डा लिएर घरदैलो अभियानमा लाग्नुका साथै आवश्यक रणनीति बनाउन दिनहुँजसो पार्टीमा छलफल गरिरहेको उनको भनाइ छ । शुक्लाफाँटा नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीका नगरप्रमुख उम्मेदवार नवराज ऐरले दुई दिनदेखि चुनावी घरदैलो अभियान थाल्नुभएको छ ।

“शुक्रबारदेखि निर्वाचन प्रचारका ठूला कार्यक्रम सुरु हुन्छन् ।” उनले भने, “अहिले मतदातासित भेटघाट कार्यक्रम चलिरहेको छ ।” नौवटै पालिकामा कञ्चनपुरमा नगरप्रमुख र पालिका अध्यक्षका लागि ७३ जनाको उम्मेदवारी परेको छ । भीमदत्तमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी १४ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन् । दोधारा चाँदनी नगरपालिकामा आठ जनाले र बेदकोट नगरपालिकामा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरेर ११ जनाले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसैगरी शुक्लाफाँटा नगरपालिकामा नगरप्रमुखका लागि आठ जनाको उम्मेदवारी परेको छ । कृष्णपुर नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवारी दिएका छन् ।

बेलौरी नगरपालिकामा ६ तथा पुर्नबास नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवारी दिएका छन् । लालझाडी गाउँपालिकामा ६ तथा बेल्डाँडी गाउँपालिकामा ६ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र राखिएका छन् भने यहाँको कूल मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्