भारतका प्रधानमन्त्री लुम्बिनी आउँदै, प्रतिनिधिमण्डलस्तर दिपक्षीय भेटवार्ताका साथमा बुद्ध बिहारको शिलान्यास गरिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउन लागेका छन् । उनि बुद्धजयन्तीको अवसरमा पहिलो पटक लुम्बिनी भ्रमणमा आउन लागेका हुन् । बिहान भारतको कुशीनगरबाट इन्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम तय भएको छ । मोदी लुम्बिनीमा करिब ६ घण्टा बिताएर सोमबार नै भारत फर्किने भएका छन् ।

मोदीको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर आइतबार नै लुम्बिनी पुगिसकेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा तथा प्रतिनिधिमण्डलस्तर दिपक्षीय भेटवार्ता र बुद्ध बिहारको शिलान्यास गर्ने लगायतका कार्यक्रमहरू तय भएका छन् । मोदी १० बजेर ४० मिनेटमा लुम्बिनी क्षेत्रमा अवतरण गर्ने भनिएको छ । मोदीलाई परराष्ट्रमन्त्री डा। नारायण खड्का, परराष्ट्रसचिव भरतराज पौड्याललगायत उच्च अधिकारीले लुम्बिनीमा स्वागत गर्नेछन् ।

त्यसपछि पछि ११ बजे उनी मायादेवी मन्दिर पुग्ने र देउवाले उनलाई त्यहाँ पुनः स्वागत गर्ने कार्यक्रम तय भएको छ । दुवै देशका प्रधानमन्त्रीले सँगै मायादेवी मन्दिरमा पुजाआजा गरेपछि भारतको इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसन आईबीसीद्वारा निर्माण हुने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम छ । त्यसपछि मोदीको सवा १२ बजे विश्रामका लागि पवन होटलमा केही बरेका लागि रहने छन् । त्यहाँ परराष्ट्र मन्त्री नारायण खड्काले शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।

साढे १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच सोही होटलमा द्विपक्षीय भेटवार्ता हुनेछ भने पौने १ बजेबाट प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । नेपाल र भारतका प्रधानमन्त्रीबीच आपसी एजेन्डाहरूमा छलफल तथा केही सम्झौतापत्रमा हस्ताक्षरको तयारी भएको छ । त्यसपछि मोदी प्रधानमन्त्री देउवाले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । भोजपछि मोदीले केही घण्टा विशिष्ट तहका व्यक्तिहरूसँग भेटघाट तथा छलफल गर्नेछन् भने त्यहीँ पत्रकार सम्मेलनको गर्नेछन् ।

त्यसपछि ३ बजेदेखि लुम्बिनीमा नवनिर्मित ५ हजार जना क्षमताको सभाहलमा आयोजित २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा भाग लिने छन् । उनले बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । त्यसपछि मोदी आजै इन्डियन एयर फोर्सको विमानमा ५ बजे भारतको कुशीनगर फर्किने कार्यक्रम रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्