हनुमाननगर । हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीले मेयर पदमा विजय हाँसिल गरेको छ । सो पार्टीका उम्मेदवार वीरेन्द्र माझीले छ हजार ४०७ मतप्राप्त गरी निर्वाचित भएका थिए भने उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टी जसपाका शैलेशकुमार साहले छ हजार २४६ मत प्राप्त गरेका थिए ।
विसं २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट नगर प्रमुखमा निर्वाचित हुँदा साहले पाँच हजार ७२० मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी माझीले चार हजार ३६५ मत ल्याएका थिए । १४ वडामध्ये उपप्रमुखसहित सात वडामा भने जसपाले प्यानलसहित जित हासिल गरेको छ । उपप्रमुखमा सरिता सिपलिया यादव पुनः छ हजार ५१२ मतका साथ निर्वाचित भएका छन् । गत निर्वाचनमा समेत राजपाबाट पाँच हजार ४१७ मत ल्याएर सिपलिया उपप्रमुख बनेका थिए । उनको निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका रेखादेवी मण्डलले पाँच हजार ९८२ मत प्राप्त गरेका थिए ।
वडाध्यक्षमा भने जसपा एक्लैले वडा नम्बर २, ३, ९, १०, १२, १३, १४ गरी सात वडामा विजयी भएको छ । नगर प्रमुख निर्वाचित जनमत पार्टीले वडा नम्बर १ र ४ मा मात्र जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा ९माओवादी केन्द्रले वडा नम्बर ५, ६, ७ र ११ तथा कांग्रेसले वडा नम्बर ८ को वडाध्यक्षमा जित हासिल गरेको छ । –रासस