किसानलाई सबल बनाउने बजेटको खोजीमा सांसद, उत्पादनलाई बजारीकरण गर्न र बाँझो जमीनको उपयोगमा ध्यान दिन सुझाव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सबै स्थानीय तहमा किसानलाई सबल बनाउने खालको कार्यक्रम ल्याउन जरुरी रहेकामा सांसदहरूले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै सांसदहरूले किसानका उत्पादनलाई बजारीकरण गर्न, भूउपयोग नीति अगाडि बढाउन र बाँझो जमीनको उपयोगमा ध्यान दिन सरकारलाई सुझाव दिए ।

स्वास्थ्य र शिक्षालाई अलि बढी ध्यान दिन जरुरी रहेको भन्दै उनीहरुले शिक्षामा सामुदायिक शिक्षालाई बजेटले सम्बोधन गर्नुपर्ने, दुर्गममा पनि अस्पताल सञ्चालन गनुपर्नेमा जोड दिएका छन् । आगामी बजेटले तय गरेका विषय ठीक भए पनि कार्यान्वयन जरुरी रहेको स्पष्ट पार्दै उनीहरुले उत्पादन बढाउनका लागि मल, बीउ र सिँचाइको राम्रो प्रबन्ध गर्नुपर्ने धारणा राखे ।

त्यस्तै केही सांसदले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेको भन्दै त्यसलाई विशेष ध्यान दिनुपर्ने बताए । श्रीलङ्का सङ्कटबाट नेपाल सरकारले सिक्नुपर्नेमा जोड दिँदै उनीहरुले समस्याको समाधानका लागि तत्काल पहल गर्नुपर्ने बताए । सरकारी निकायलाई कुनै पनि प्रकारको हस्तक्षेप नगरी काम गर्ने वातावरण बनाउनुपर्ने र लगानीमैत्री नीति बनाउनुपर्ने उनीहरुको तर्क छ ।

सांसद नवराज सिलवाल, दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, मनकुमारी जिसी, सत्यनारायण खनाल, राजेन्द्र केसी, नारायणप्रसाद खतिवडा, बहादुरसिंह लामा, लालप्रसाद सावा लिम्बू र प्रकाश रसाइली स्नेहीलगायतले विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका बारेमा आफ्ना सुझाव दिए । प्रतिनिधिसभाको अर्को बैठक जेठ ६ गते शुक्रबार दिनको १ बजे बस्नेछ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्