२५ करोडको लागतमा जेरिएटिक अस्पताल निर्माण, डा कोइरालाद्वारा शिलान्यास

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर । विराटनगर –८स्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिद्वारा विराटनगर–६ रामपुरमा १५ श्ययाको ‘शङ्कर अधिकारी मेमोरियल स्मारक जेरिएटिक अस्पताल’ निर्माण गर्न लागिएको छ । एक बिघा जग्गामा रु २५ करोडको लागतमा निर्माण गर्न लागिएको उक्त अस्पताल निर्माणबाट ज्येष्ठ नागरिकका लागि सम्पूर्ण स्वास्थ्यसम्बन्धी उपचार एकै ठाउँमा उपलब्ध गराइने भएको छ ।

अस्पताल निर्माणका लागि स्व अधिकारीका श्रीमती, छोराहरु सरोज तथा सञ्जिव र बुहारी अञ्जनाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । उक्त अस्पताल आज शिलान्यास गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नवनिर्वाचित जनप्रतिनिधिले कामका आधारमा जनताको विश्वास जित्नुपर्र्ने बताए । पालिकाका प्रतिनिधिले सुशासन, पारदर्शी र जवाफदेही, भ्रष्टाचारमुक्त र जनउत्तरदायी भएर कार्य गर्नुपर्नेमा जोड दिँदै उनीले स्थानीय तहमा हुने विकास निर्माणका कार्यको प्रमुख तथा अध्यक्षले अनुगमन गरी ‘वाच डग’को भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालाले ज्येष्ठ नागरिकलाई आवश्यकपर्ने स्वास्थ्योपचारलगायत अन्य कार्यका लागि समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । आश्रम प्रमुख जगत अर्याल, नेका महानगर अध्यक्ष दीपक चापागाईं, नेका प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, डा नाराण कोइराला र रुक्मणि कोइरालाले अस्पताल स्थापनाबाट यस प्रदेशका ज्येष्ठ नागरिकले गुणस्तरीय उपचारको सुविधा पाउने विश्वास व्यक्त गरे । उक्त अस्पताल निर्माणका लागि आश्रम प्रमुख अर्यालले सर्वसाधारणसँग दैनिक रु पाँच सङ्कलन गर्नाका साथै सङ्घीय, प्रदेश, स्थानीय पालिका तथा स्वदेश तथा विदेशबाट सहयोग प्राप्त हुने लक्ष्य लिइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्