कोहलपुर–सुर्खेत प्रसारण लाइनको रुख कटानमा ढिलाइ, निर्धारित समयमै आयोजना बन्न नस्कने

Ad
  • कालोपाटी सम्बाददाता

कोहलपुर । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । आगामी भदौमा म्याद सकिन लाग्दा पनि आयोजनाले अहिलेसम्म रुख कटानको अनुमति पाउन सकेको छैन् । नेपाल विद्युत् प्राधिकरणले रुख कटानसम्बन्धी प्रस्ताव पेश गरेको लामो समय बितिसक्दा पनि वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्मा उक्त प्रस्ताव लैजान ढिलाइ गर्दा आयोजना प्रभावित हुन पुगेको हो । बाउन्न किमी लामो प्रसारण लाइनको अधिकांश भूभाग बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ ।

यस आयोजनाका लागि बाँके, बर्दिया र सुर्खेतमा गरी १३ हजार ११९ रुख कटान गर्नुपर्ने हुन्छ । आयोजनाका प्रमुख रविकुमार चौधरीले रुख कटानसम्बन्धी निर्णय नहुँदा निर्धारित समयमै आयोजना नबन्ने देखिएको बताए । “वनजङ्गल नभएको ठाउँमा प्रसारण लाइनको काम भइरहेको छ, निजी जग्गाको मुआब्जा वितरण प्रक्रिया पनि सुरु भइसकेको छ”, उनले भने , “मन्त्रिपरिषद्बाट रुख कटानको निर्णय नहुँदा आयोजना कम्तीमा एक वर्ष धकेलियो ।” आयोजनाको निर्माण अवधि आगामी भदौमा सकिँदैछ । रु सत्तरी करोड लागतमा भारतीय कम्पनी आरएस इन्फाप्रोजेक्टले आयोजना निर्माणको जिम्मेवारी पाएको छ ।

आयोजनाले डबल सर्किटका १७० टावर निर्माण गर्ने प्रस्ताव छ । टावरको उचाइ ११५ मिटरदेखि १६० मिटरसम्म रहेको छ । आयोजनाका अनुसार प्रसारण लाइनको अधिकांश क्षेत्रमा बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसका मध्यवर्ती क्षेत्र पर्छ । प्रसारण लाइनको ७०.५४५ भाग वन क्षेत्र, १५.१३५ खेतीयोग्य, २.२६५ बाँझो जमिन तथा ११.०६५ अन्य भागले ओगटेको छ ।

प्रसारण कार्यान्वयनका लागि विभिन्न जग्गा, जमिन, सामुदायिक वन तथा सरकारी वन क्षेत्र गरेर कूल २२५ वर्गकिलोमिटर जमिन समेटिने छ । कोहलपुरबाट सुरु भएको प्रसारण लाइन वीरेन्द्रनगरको बुँदबुँदे स्थित सवस्टेशनमा पुगेर टुङ्गिनेछ । एक सय ३२ केभी विद्युत् प्रसारण लाइन विस्तार नहुँदा कर्णालीवासीले विद्युत् सेवामा सास्ती भोग्दै आएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्