यातायात क्षेत्रमा समस्यै समस्या, समस्या नबुझ्दा धरासायी बन्दै यातायात व्यवसायी

Ad
  • कालोपाटी सम्बाददाता

गलकोट । बागलुङका यातायात व्यवसायी विष्णु अधिकारी काठमाडौं गएको समयमा सवारी जाँचका क्रममा चालक अनुमतिपत्र लाइसेन्स प्रहरीले राख्छ । सवारी र चालक बागलुङ फर्किन्छन् । लाइसेन्स ल्याउन पुन काठमाडौँ जानुपर्ने समस्या, त्यो पनि कतिदिनमा लाइसेन्स भेटिन्छ टुङ्गो छैन । “लाइसेन्स लिन काठमाडौँ जाँदा ट्राफिक प्रहरी परिवर्तन भइसक्छ उस्तै परे लाइसेन्स हराउँछ, कम्तीमा हामीले राजस्व जम्मा गरेपछि बागलुङ पठाउने व्यवस्था ट्राफिक प्रहरीले गर्नुपर्दछ” उनीले भने “आफ्नो सवारी बागलुङबाट म्याग्दी जाँदा अस्थायी रुट परमिट ल्याउनुपर्छ त्यसपछि पुन बागलुङ हुँदै कुस्मिशेरा जानु पर्ला एक दिनमा कति पटक रुट परमिट लिने, कति पटक शुल्क बुझाउने, साविक धौलागिरिका जिल्लामा एउटै रुट परमिट लागू गर्दा राम्रो हुन्थ्यो ।”

यस्तै बागलुङका अर्का यातायात व्यवसायी उमेश केसीले सवारी साधन नगरपालिका र यातायात व्यवस्था कार्यालयले किनेर चलाउन चुनौती नै दिए । “यातायात व्यवसायीको समस्या कस्ले बुझ्ने, कोरोनाले सबै ऋणमा डुबेका छन्, तेलको भाउले भाडाले सवारी थाम्नै गाह्रो भएको छ, चार वर्ष बागलुङ–पोखरा सडक निर्माणाधीन हुँदा कच्ची जस्तै थियो त्यतिबेला भाडा बढाउने कसैले चासो दिएनन्” उनले भने “अहिले बाटो सुधार भयो भाडा बढी भयो भनेर हैरान पारेका छन्, त्यतिबेला कच्ची बाटोमा हाम्रा सवारीसाधन कसरी गुडेका थिए कसैको ध्यान गएको थियो, मत भन्छु नियमन गर्ने निकायले एकरदुई वटा सवारी किनेर गुडाओस् न अनि बल्ल हाम्रो समस्या थाहा हुन्छ ।” उनले पुरानो कानुनका कारण यातायात व्यवस्थापन क्षेत्रमा समस्या नै समस्या भएको भन्दै विस्तारै यातायात व्यवसायीहरु धरासायी बन्दै गएको बताए ।

यातायात व्यवसायीको मात्रै हैन ट्राफिक प्रहरीहरुको समेत समस्या उस्तै छ । सरकारले स्मार्ट लाइसेन्स वितरण गर्न थालेको वर्षौ भयो सँगै एम्बोस्ट नम्बर प्लेटसमेत । तर अहिलेसम्म उक्त लाइसेन्स र नम्बर प्लेट रिड गर्ने औजार ट्राफिकसँग छैन । जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले सवारी जाँचका क्रममा अधिकांशले ब्लुु–बुक यातायात कार्यालयमा रहेको भन्छन् तर हामीले तत्कालै त्यहाँ छ वा छैन भनेर हेर्ने संयन्त्र छैन त्यसैले सवारी साधन जाँच गर्दासमेत समस्या देखिन्छ । “लाइसेन्स तथा ब्लु–बुक नभएकाले यातायात कार्यालयमा नवीकरणका लागि दिएका छौँ भन्नुहुन्छ” व्यवसायी केसीले भने “ट्राफिक प्रहरीले तत्कालै बुझ्ने कुनै संयन्त्र छैन, हामीले चिट काट्नुको विकल्प हुँदैन, चालकहरुले यातायात व्यवस्था कार्यालयले ढिलाइ गर्दा आफ्नो ब्लु–बुक नआएको गुनासो गर्छन्, यातायात कार्यालयले छिटो लाइसेन्स र ब्लु–बुक नवीकरण गरिदिनु पर्यो, हैन भने यातायातले लाइसेन्स तथा ब्लु–बुक नवीकरका लागि राख्दा जानकारी पत्र जस्तो दिनुपर्यो ।”

यातायात व्यवसायीको यस्तै गुनासो सुन्ने र समाधान गर्ने उद्देश्यले साविक धौलागिरिका पर्वत, म्याग्दी र बागलुङका यातायात व्यवसायी, ट्राफिक प्रहरी, पत्रकारहरु र सरोकारवाला निकायबीच यातायात व्यवस्था कार्यालय कास्की सवारी कार्यालयको आयोजनामा बागलुङमा गरिएको अन्तरक्रियामा यातायात सेवा व्यवस्थापन, समस्या, चुनौती र समस्या समाधान विषयक बागलुङमा शनिरबार आयोजित अन्तरक्रिर्या कार्यक्रममा व्यक्त भएका प्रतिनिधि समस्या मात्रै हुन् यिनीहरु । यातायात क्षेत्रमा लाइसेन्स लिनेहरुको समेत समस्या उस्तै छ । लाइसेन्स लिनकै लागि वर्षौ कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहभागीहरुले यातायात कार्यालयलाई आग्रह गरेका थिए । यातायात व्यवस्था कार्यालय कास्की सवारीका प्रमुख डिल्लीराम रिजालले यातायात व्यवस्था कार्यालय अब पूरै डिजिटल हुने भन्दै नागरिकलाई छिटो र छरितो सेवा दिन सहयोग पुग्ने र विचौलियाविहीन कार्यालय बनाइने बताए ।

उनले यातायात व्यवसायीलगायतको गुनासोका आधारमा आगामी दिनमा यातायात व्यवसाय कार्यालयले सवारी साधनको अनुगमन, दर्ता, लाइसेन्सलगायतका काममा सुधार गर्दै जाने बताए । कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङमा ट्राफिक व्यवस्थापनका लागि जग्गा व्यवस्थापन गरेर पार्किङको व्यवस्था गरेर ट्राफिक जाम कम गर्ने जानकारी दिए । यस्तै बेनी नगर प्रमुख सुरत केसीले यातायातसम्बन्धी सानो कामका लागिसमेत बागलुङ धाउनुपर्ने कार्यको अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा यातायात व्यवस्था कार्यालय कास्की सवारी कार्यालयका प्रमुख डिल्लीराम रिजाल तथा यातायात व्यवस्था कार्यालय कास्की लाइसेन्सका प्रमुख प्रेम सुवेदीले अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्दै यातायात र लाइसेन्स क्षेत्रमा भएको काम, समस्या, चुनौती र समाधानका विषयमा अवधारणा पत्र प्रस्तुत गरेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्