आजदेखि पृथ्वीराजमार्गको याम्पा–घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द, यस्तो छ कारण !

Ad
  • कालोपाटी सम्बाददाता

दमौली ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आजदेखि दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो । बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आजदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द रहने मुग्लिङ पोखरा सडक योजना पूर्वी खण्डका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

नियमितरुपमा सवारी साधान सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक बन्द गरी काम गर्न लागिएको उनले बताए । सो समय अगाडि वा पछाडिमात्र उक्त सडकमा आवतजावत गरिदिन सर्वसाधारणलाई आग्रह गरिएको छ । आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडक विस्तार कार्यका लागि राजमार्ग आसपासका रुखहरु काटिएको छ । हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन् ।

मुग्लिङ पोखरा सडक विस्तार कार्यअन्तर्गत पश्चिम खण्डबाट पनि काम सुरु भइसकेको छ । पश्चिम जामुने–पोखरा खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीले पाएको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक एडिबीको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । पूर्वी खण्ड रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्ड रु सात अर्ब ४० करोड ४६ लाखमा सम्पन्न गर्ने ठेक्का संझौता भएको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटर चौडा सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछ । आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दूरीको भने डिजाइन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत् गृह रहेको छ । जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्