भेरी अस्पतालमा बिरामीको चाप बढ्दै, झाडापखालाका बिरामी बढी

Ad
  • कालोपाटी सम्बाददाता

भेरी । गर्मी बढेर अन्य रोगका बिरामी देखिए पनि यसवर्ष भेरी अस्पताल नेपालगञ्जमा ज्वरोका बिरामी देखिएका छैनन् । पहिले ज्वरोका बिरामी धेरै अस्पताल आउँथे तर यसवर्ष ज्वरोका बिरामी आएका छैनन् । भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले कोभिड खोपका कारण पनि त्यस्तो भएको हुनसक्ने उल्लेख गर्दै झाडापखालाका बिरामी अस्पतालमा बढी भएको जानकारी दिए ।

अस्पतालमा प्रतिदिन १०० देखि १५० जनासम्म विभिन्न रोगका बिरामी आउने गरेका छन् । बालबालिकादेखि वृद्धसम्म झाडापखाला, दम, टाउको दुख्ने लगायतका बिरामीले अस्पताल भरिभराउ भएको डा रिसालले बताए । उनले सर्पदंशका बिरामी पनि यसवर्ष कम भएको उल्लेख गर्दै वृद्धमा दमको समस्या बढी भएकाले उपचारका लागि आउने गरेको बताए । भेरी अस्पतालबाहेक यहाँका नेपालगञ्ज मेडिकल कलेज, रामजानकी अस्पताल, वेष्र्टन अस्पताललगायतमा झाडापखाला, दम, टाउको दुखेका बिरामी देखिएका छन् ।

चिकित्सकहरुले गर्मीयाममा दिउँसो जथाभावी बाहिर नहिँड्न, हिँड्नै परे शरीर छोपिने कपडा लगाउन र पर्याप्त मात्रामा शुद्ध तथा सफा पानी पिउन, आँखालाई संरक्षण हुने चश्मा प्रयोग गर्न सुझाव दिएका छन् । नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जमा दिउँसो चर्को घाम र तातो हावा लु चलेको छ । ‘लु’का कारण यहाँको जनजीवन प्रभावित भएको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ । तापक्रम वृद्धि र ‘लु’ चल्न थालेसँगै बढी गर्मी महसुस भइरहेको स्थानीयवासीले बताएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्