काठमाडौंको फोहर तत्काल व्यवस्थापन गर्न माग, बल प्रयोग गरेर नभई सहमतिका साथ समाधान खोज्नुपर्नेमा जोड

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले लामो समयदेखि काठमाडौंमा दुर्गन्ध र फोहरले राजधानीवासी आजित भइसकेको भन्दै तत्काल समाधान खोज्न आग्रह गरे ।  उनले भने , “काठमाडौंको कुनै सडक, गल्लीको फोहर उठेको छैन । जताततै फोहरको डङ्गुर बनिसक्यो, त्यसैले तत्काल फोहर उठ्नुपर्छ र समस्या समाधान हुनुपर्छ ।”

सांसद श्रेष्ठले सिसडोल र बञ्चरे डाँडाका जनप्रतिनिधिबीच सहमति भए पनि फोहर फाल्न नदिने प्रवृत्ति दोहोरिएको भन्दै त्यहाँका जनताको माग सम्बोधन गर्न माग गरे । उनले फोहर नउठे अब काठमाडौंका जनता चुप लागेर नबस्ने भन्दै फोहर व्यवस्थाापनका लागि बल प्रयोग गरेर नभई सहमति र समझदारीका साथ समाधान खोजिनुपर्नेमा जोड दिए ।  सांसद श्रेष्ठले काठमाडौँको फोहर नउठेको विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै तत्काल फोहर उठ्छ कि उठ्दैन सभामुखमार्फत रुलिङ गर्न माग गरे ।

यस्तै सांसद यज्ञबहादुर बोगटीले अछामका विनोद शाहीको हत्या घटनामा दुई साता बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिएको भन्दै विद्यार्थी मारिँदा पनि राजनीतिकरण भएको आरोप लगाए । अछाम प्रशासनले हत्याका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत उनले सरकारको ध्यानाकर्षण गराए । सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्