जिसस गुल्मीको निर्वाचन असार १ गते, २८ गते मतदाताको विरोधमा उजुरी दिने

Ad
  • कालोपाटी सम्बाददाता

गुल्मी । जिल्ला समन्वय समिति जिसस गुल्मीको निर्वाचन आगामी असार १ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार १ गते निर्वाचन हुने गरी जिसस निर्वाचन–२०७९ को कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार बुधबार आयोगले यही जेठ २४ मतदाताको नामावली सार्वजनिक गरेको छ । त्यस्तै २७ गते मतदाता नामावली सच्याउन निवेदन दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

२८ गते मतदाताको विरोधमा उजुरी दिने र उजुरीउपर जाँचबुझ गर्ने एवं २९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ । जेठ ३१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिए ।

कार्यालयले मतदानका लागि २४ मतदाताको नाम सार्वजनिक गरेको छ । जसअनुसार जिल्ला १२ पालिकाका २४ मतदाता छन् । स्थानीय तहका प्रमुख–अध्यक्ष एवं उपप्रमुख–उपाध्यक्ष जिल्ला समन्वय समितिको निर्वाचनका लागि मतदाता हुन पाउँछन् । समन्वय समितिको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका १०–१० एवं नेकपा माओवादी केन्द्रका चार मतदाता छन् । कालीगण्डकीमा माओवादी केन्द्र, एमाले तालमेलबाट ‘सूर्य’ चिह्नबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएकाले माओवादी केन्द्रले आफ्नो पाँच र एमालेको नौ मत रहेको दाबी गरेको छ ।

पाँचदलीय गठबन्धनको तर्फबाट कांग्रेसका दोर्ण खत्रीलाई प्रमुख बनाउने तयारी छ । गठबन्धनको तर्फबाट उपप्रमुखका उम्मेदवार भने अझै टुङ्गो लागेको छैन । शुक्रबार बस्ने बैठकले उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउने माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए । एमालेका सचिव गणेश श्रीपालीले भने पार्टीको तर्फबाट प्रमुख–उपप्रमुखमा उम्मेदवारी दिने वा नदिने भन्ने विषय नै टुङ्गो नलागेकाले उम्मेदवार नटुङ्ग्याएको प्रतिक्रिया दिए । गत वैशाख ३० को निर्वाचनमा कालीगण्डकी र धुर्कोट गाउँपालिकामा माओवादी–एमाले तालमेल भएको थियो भने अन्य १० पालिकामा पाँचदलीय गठबन्धन भएको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्