विपद्जन्य घटना र क्षति न्यूनीकरण तथा राहतको व्यवस्थापन गर्न सांसदहरुद्धारा ध्यानाकर्षण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विगतमा विपद् प्रभावितले अझै पनि राहत नपाएको स्मरण गराउँदै अहिले पनि धेरै क्षेत्रमा बढी पानी पर्ने आकलन भइसकेकातर्फ ध्यानाकर्षण गराए ।

सांसद दामोदर भण्डारीले विगतमा सुदूरपश्चिमका पहाडी जिल्लाका भीषण बाढीबाट प्रभावित भएकाहरूलाई उचित व्यवस्थापन र राहत उपलब्ध गराउन माग गरे । अर्का सांसद दीपकप्रकाश भट्टले गतवर्ष महाकालीमा आएको बाढीले त्यसआसपासका धेरै क्षेत्रमा क्षति पुर्याएको भए पनि राहत नपाएको गुनासो गरे । उनले फेरि वर्षा सुरु भइसकेकाले त्यहाँका जनता थप त्रसित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद दुर्गा पौडेलले वर्षा सुरु भइसकेको र मौसम विभागको अनुमानअनुसार धेरै ठूलो वर्षा हुने आकलन सार्वजनिक भएको सन्दर्भमा गम्भीर तयारीमा लाग्न सरकारसँग आग्रह गरे ।

सांसद दिलकुमारीले किसानलाई मल पानीको जरुरी हुने भन्दै उपलब्ध गराउन सरकारसँग माग गरे । उनले अनलाइन पब्जी खेल बन्द गर्न पनि माग गरे । सांसद दिव्यमणि राजभण्डारीले सार्वजनिक बिदा दिने र हटाउने कुरा आफूखुसी नगरी उपयुक्त नियम कानुन बनाई दीर्घकालीनरूपमा लागू हुने परिपाटी बसाउन ध्यानाकर्षण गराए । सांसद दुर्गाबहादुर राउतले सरकारले न्यूनतम ज्याला तोकेको भए पनि महिला स्वयंसेविकालगायतको तलब वृद्धि नभएको भन्दै ध्यानाकर्षण गराए । उनले पुस्तक नपुगेका जिल्लामा तत्काल पुर्याउन माग गरे ।

सांसद देवेन्द्रराज कँडेलले नागरिकता विधेयक पेश गर्न माग गरे । सांसद नवीना लामाले पुस्तक अभाव किन भयो भनी सरकारसँग प्रश्न गरे । सांसद नवराज सिलवालले संसद्मा उठेका विषयमा सरकार गम्भीर नभएको आरोप लगाए । स्वास्थ्यमा देखिएको विकृति नियन्त्रण गर्न उनले ध्यानाकर्षण गराए । सांसद पुष्पा भुषाल गौतमले कोरोना बीमाको रकम नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्