३६४ मेगावाट बिजुली भारत निर्यात गर्न सुरु, कुलमान भन्छन् -‘विद्युत दुई मुलुकबीचको व्यापारका लागि कोशेढुंगा हो’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भारतले स्वीकृत गरेजति नै अर्थात् ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु भएको छ । शुक्रबारबाट निजी क्षेत्रको ग्रिन भेन्चर्स लिको लिखु ४ बाट उत्पादित विद्युत निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत् भारतीय बजारमा बिक्री सुरु भएको हो । पानी परेसँगै नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत ढल्केबर मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।

भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको थियो । विद्युत प्राधिकरणले थप ४ जलविद्युतगृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको हो । प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७।७ मेगावाट, कालीगण्डकी एको १४० मेगावाट, मध्यमर्स्याङ्दीको ६८ मेगावाट, मर्स्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु(४बाट उत्पादित ५१ मेगावाट विद्युत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत भारतीय बजारमा बिक्री हुन थाल्नु दुई मुलुकबीचको विद्युत व्यापारका लागि कोशेढुंगा भएको बताएका छन् । ‘स्वीकृत क्षमता अनुसारकै विद्युत निर्यात सुरु भएसँगै दुई मुलुकका प्रधानमन्त्रीले संयुक्त रुपमा जारी गरेको ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको छ यो दुई मुलुकबीचको विद्युत व्यापारका लागि एउटा कोशेढुंगा हो, यसले दुई मुलुकबीचको व्यापार घाटालाईसमेत कम गर्ने छ’, कार्यकारी निर्देशक घिसिङले भने । उनले आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको सबै विद्युत निर्यात गरिरहेका छौं, यसबाट मुलुकभित्र उत्पादित विद्युत बिक्री गर्न नसकी खेर फाल्नु पर्ने अवस्था तत्कालका लागि अन्त्य भएको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्