चालु आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्र हुने, होलिडेका कारण निर्माण सुस्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको कन्सट्रक्सन होलिडेका कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार ८०० किमी सडक कालोपत्रको लक्ष्य लिएका थिए । गत महिनासम्ममा झण्डै ६०० किमी मात्रै कालोपत्र गरिसकिएको सडक विभागका महानिर्देशक अर्नुनजङ्ग थापाले बताए ।

आठ सय किमी सडक ग्राभेल गर्ने लक्ष्य लिइएकामा हालसम्म २९५ किमी सम्पन्न भएको छ । अहिले पनि कन्सट्रक्सन होलिडेका कारण निर्माण सुस्त छ । उनले भने, “यो महिनाको अन्तिमसम्ममा एक डेढ सयसम्म बढ्नसक्छ ।” गत महिनासम्ममा मन्त्रालयको भौतिक प्रगति ५५ प्रतिशत थियो । भुक्तानी कम भएकाले वित्तीय प्रगति भने झण्डै ३९ प्रतिशतमात्रै थियो । कतिपय योजनामा काम हुने तर बजेट नहुने र कतिपयमा बजेट हुने तर काम नहुने समस्या रहेको छ । काम भएको शीर्षकमा पैसा नभएमा काम नभएका शीर्षकबाट त्यसमा रकमान्तर गर्नुपर्ने हुन्छ ।

अर्थमन्त्रालयमा रकमान्तरका लागि अनुरोध गरिएको र मन्त्रालयले स्वीकृत गरेपछि भुक्तानी गरिने महानिर्देशक थापाले बताए । चालु आवमा प्रगति ६० देखि ६५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत वर्षमा सुरु विनियोजनअनुसार ७६ प्रतिशत प्रगति भएका थिए । चालु आवमा गत वर्ष जति प्रगति नहुने उनको भनाइ थियो । चालु आवमा पूरक बजेट तीन महिना ढिला भएकाले यकिन विनियोजन ढिला मात्रै थाहा भएको महानिर्देशक थापाले बताए । पछिल्लो दुई वर्षदेखि कोभिड सङ्क्रमणका कारण निर्माणमा असर पुगिरहेको छ । चालु आवमा पनि सङ्क्रमणका कारण निर्माणमा अवरोध पुगेको भएको मन्त्रालयले जनाएको छ ।

अहिले युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थ, रड, छडलगायतको निर्माण सामग्रीको भाउ निकै बढेको छ ।  युद्ध अघि ती सामग्रीको भाउ अहिले दोब्बर भएपछि निर्माण व्यवसायीले ‘कन्सट्रक्सन होलिडे’ गरिरहेका छन् । महानिर्देशक थापाले भने, “व्यवसायीले अलकत्राको काम नगरेको, छडको काम कम गरेको र इन्धन लाग्ने काम कम गरेका छन् ।” सरकारले केही वर्ष यता बर्सेनि ३०० पुल निर्माणको लक्ष्य लिँदै आएको छ । गत महिनासम्ममा १०१ पुल निर्माण गरिएका थिए । अरु पुल पनि सम्पन्न भइरहेको महानिर्देशक थापाले बताए । कतिपय पुलको मुख्य संरचना निर्माण सकिएर रेलिङ, रङ, पहुँच सडक बन्न बाँकी छ । उनले भने, “यो महिनामा गत वर्षभन्दा कम हुँदैन भन्ने विश्वास छ ।”

अहिले निर्माणाधीन सडक र पुल समयमा नसकिएमा असार पछि अवधि थप गर्नुपर्ने हुनसक्ने सडक विभागले जनाएको छ । ठेक्काको अवधि थप्नका लागि कारण चाहिने महानिर्देशक थापाले बताए । योजना समयमा नसकिनु नै प्रमुख कारण भएकाले त्यो अर्को वर्षका लागि धकेलिन सक्ने उनको भनाइ थियो । समग्रमा सडकमा प्रगति कम भए पनि राष्ट्रिय गौरवको आयोजनामा भने चालु आवमा छुट्टाइएको रकमभन्दा बढी खर्च हुने देखिएको छ । अहिले नै ती आयोजनामा सुरुमा भएको विनियोजन रकम खर्च भइसकेको छ । भौतिक प्रगतिका आधारमा पनि उल्लेखीय काम भएको पाइएको विभागका महानिर्देशक थापाले बताए ।

मदन भण्डारी राजमार्गमा चालु आवमा रु दुई अर्ब विनियोजन भएकामा हालसम्म रु साढे तीन अर्ब खर्च भइसकेको छ । सो आयोजनामा अझै एक डेढ अर्ब थप खर्च हुने देखिएको छ । हुलाकी राजमार्गमा पनि गत वर्षहरुमा जस्तै धेरै खर्च भएको उनले जानकारी दिए । मध्यपहाडीमा विभिन्न किसिमका विवादले तुलनात्मकरुपमा कम खर्च भएको छ । चालु आवमा लक्ष्यभन्दा कम प्रगति हुने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विनियोजन बजेट शिर्षकमाथि प्रतिनिधिसभाको बैठकमा बताएका थिए । सरकारले विगतमा सुरु गरेका कतिपय योजनाका स्तरोन्नति आगामी आवमा हुने उनले त्यसबखत जानकारी दिएका थिए ।

चालु आवको पहिलो आठ महिनामा ३२५ किमी सडक कालोपत्र र ८० पुल निर्माण भएको सरकारले गत महिना सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । उक्त सर्वेक्षणअनुसार गत फागुनसम्ममा २६५ किमी सडक खण्डस्मिथ ग्राभेल भएका थिए भने ९५ किमी मर्मत भएका थिए । हालसम्म १६ हजार ९३९ किमी कालोपत्र सडक र आठ हजार हजार ८२१ किमी कच्ची गरी सडकको लम्बाइ ३३ हजार ८७१ किमी पुगेको छ । गत असारसम्म १६ हजार ६१४ किमी कालोपत्र, आठ हजार ७१ किमी खण्डस्मिथ र आठ हजार ९३१ किमी कच्ची सडक बनेका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्