बेगखोलामा पुल बन्न अझै दुई वर्ष लाग्ने , वर्षाको समयमा सर्वसाधारण सास्ती भोग्न बाध्य

Ad
  • कालोपाटी सम्बाददाता

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पुल नबन्दा वर्षात्का समयमा सवारीसाधन र यात्रुलाई वारपार गर्न समस्या भएको छ । यस क्षेत्रमा हल्का पानी परेमा यात्रु घण्टौँ रोकिनुपर्छ । असार लागेलगत्तै खोलामा पानीको सतह बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जाने सवारीसाधनलाई खोला वारपार गर्न कठिनाइ हुने गरेको हो ।

विसं २०७३ भदौ १६ गते आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि बेनी–जोमसोम सडकको यात्रा कठिन र जोखिमपूर्ण हुँदै आएको छ । पाँच वर्षपछि बल्ल चालु आर्थिक वर्षमा बेगखोलामा पुल निर्माण थालिएको छ । पुल निर्माण अझै दुई वर्ष लाग्ने आयोजनाले जनाएको छ । बिहीबार साँझदेखि भएको अविरल वर्षाका कारण बेगखोलामा पानीको सतह बढेको छ । खोलामा पानीको सतह बढेपछि रोकिएका सवारीसाधन शुक्रबार बिहानदेखि भने जोखिम मोलेर गन्तव्यतर्फ लागेका थिए ।

बाढीका कारण दैनिकरूपमा बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन तथा पैदलयात्रु बाटोमै अलपत्र पर्ने गरेका छन् । बाढीले पुल बगाएको छ वर्षसम्म पनि अस्थायी संरचनासमेत बन्न नसक्दा वर्षाको समयमा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका हुन् । खोलामा बाढी आएपछि वैकल्पिक मार्ग नहुँदा सवारीसाधन र यात्रु ज्यानकै जोखिम मोलेर खोला वारपार गर्न बाध्य हुनुपरेको यात्रुहरूको गुनासो छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्