ऊर्जामन्त्री भुसालसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट, द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ । स्वीस सरकारले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री भुसालले आगामी दिनमा पनि ऊर्जा क्षेत्रमा आवश्यक पर्ने प्राविधिक तथा आर्थिक सहयोग प्राप्त हुने अपेक्षा गरे ।

नेपाल जलवायु परिवर्तनको असरले ठूलो समस्यामा पर्दै गएको उल्लेख गर्दै उनले दुवै देशको साझा समस्याका रूपमा रहेको जलवायु परिवर्तनको असर कम गर्न सहकार्य आवश्यक रहेको बताए । मन्त्री भुसालले भने , “हाम्रो पहाडमा पहिरो, तराईमा बाढी, तापक्रममा वृद्धिजस्ता जलवायु परिवर्तनका असर धेरै देखिन थालेका छन्, यस्ता समस्याको समाधान खोज्न आवश्यक छ । यी विषयमा नेपाल र स्वीस सरकार सहकार्य गरेर जानुपर्छ ।” उनले सङ्घीयता कार्यान्वयन र रोजगारी विस्तारमा स्वीस सरकारबाट प्राप्त भएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

सो अवसरमा राजदूत क्याप्लरले नेपाललाई आर्थिकभन्दा पनि प्राविधिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै स्वीस सरकारले निरन्तर प्राविधिक सहयोग गर्ने विश्वास दिलाए । उनले भने , “हामीसँग टनेल एवं टवाईनजस्ता प्राविधिक क्षेत्रका लागि आवश्यक पर्ने ज्ञान र सीप छन्, त्यसलाई नेपालमा सहयोग गर्न चाहन्छौँ ।” सो अवसरमा जलवायु परिवर्तनको असरका कारण आफ्नो देशको तापक्रम वृद्धि हुँदै गएको राजदूत क्याप्लरले सुनाए । भेटमा ऊर्जामन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल, बाबुराम भण्डारी र पररारष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी थिए । रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्