काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति अब कुनैपनि समयमा घोषणा हुने बताएका छन् । शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै चुनावको मिति कुनैपनि बेला घोषणा हुनसक्ने बताएका हुन् ।
अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब छिटै चुनावको मिति घोषणा हुन्छ भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा बस्न निर्देशन समेत दिएका छन् । उनले देशव्यापी उम्मेदवार दिएर गए आफ्नो पार्टीले अबको चुनावमा सबै ठाउँमा जित्न नसकेपनि प्रतिनिधिसभामा २०\२५ सिट जित्न कसैले रोक्न नसक्ने बताएका छन् ।
‘चुनावको मिति कुनैपनि बेला घोषणा हुनसक्छ । अब त्यो तयारीमा जुट्नुस्, कार्यकर्ताको विन्यास गर्नुस्, जिम्मा दिएर पठाउनुस्, घरघरमा जाने काम भएको छ कि छैन ? अहिलेदेखि नै स्वयंसेवक पनि खटाउनुस् ।’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने ।