बजेट प्रकरणकोबारेमा छानबिन प्रतिवेदन तयार पार्दै संसदीय विशेष समिति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बजेट प्रकरणको छानबिन संसदीय विशेष समितिले बुधबार प्रतिवेदन लेख्ने प्रक्रिया सुरु गर्ने भएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे हालसम्मको अध्ययन अनुसन्धानको विश्लेषण गरेर बुधबारबाट प्रतिवेदन लेख्ने प्रक्रिया सुरु गर्ने भएको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले समितिले बुझ्नुपर्ने विषय बुझिसकेकाले बुधबार थप छलफल गर्ने र प्रतिवेदन लेख्न थाल्ने बताएका छन् । समितिले अनुसन्धानको क्रममा अनधिकृत व्यक्तिको संलग्न भएको भनिएजस्तो सुराक फेला पार्न भने सकेको छैन । अनुसन्धानको क्रममा समितिले तत्कालीन अर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनी, मन्त्रालयका अन्य कर्मचारीहरु र अनधिकृत व्यक्तिको संलग्नता भएको भनेर समाचार लेखेका पत्रकारहरुसँग सोधपुछ समेत गरेको थियो ।

करको दर हेरफेरका लागि अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गरेको भनिएको जेठ १४ गते रातिको सीसीटीभी फुटेज रिकभर गरेर हेर्दा पनि स्पष्ट बुझिने दृष्य नदेखिएको समितिले जनाएको छ । अनधिकृत व्यक्ति प्रवेश गरेको ठोस प्रमाण नभए पनि समितिले प्रतिवेदन लेखेर बुझाउने तयारी गरेको समितिका सदस्यहरुले जनाकारी दिएका छन् ।  प्रहरीले ५१ वटा भिडिओ क्लिपहरु रिकभर गरेर समितिलाई बुझाएको थियो । तर ती सबै क्लिपहरु स्पष्ट नदेखिने खालका थिए ।

त्यसबारे मंगलबार समितिले फरेन्सिक विज्ञहरुलाई नै समितिको बैठकमा बोलाएर सोधेको थियो । विज्ञहरुले भिडियो रिकभर गर्दा टुक्रा(टुक्रामा आउने र डिभाइससमेत रिराइट हुँदा गुणस्तर बिग्रिने जवाफ दिएका थिए । त्यसैले समिति जेठ १४ गते राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेरनगरेको एकिन गर्न सकेको छैन ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्