तनहुँ । तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो ।
सो अवधिमा एक सय सवारीसाधन दुर्घटनामा परेका थिए । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार ११ ट्रक, १७ बस, १४ जीप-कार, दश ट्याक्टर, एक टेम्पो र ४७ मोटरसाइकल दुर्घटना भएका थिए । दुर्घटनामा परी ४५ पुरुष, १३ महिला, तीन बालक र तीन बालिका घाइते भएका थिए । आर्थिक वर्ष २०७७-७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए ।
ज्यान गुमाउनेमा ३७ पुरुष, आठ महिला र तीन बालक छन् । आव २०७६-७७ मा ४४ तथा आव २०७५-७६ मा ६० जनाको सवारीसाधन दुर्घटनामा परी मृत्यु भएको थियो । सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना भएका थिए । ‘तीव्र गतिका कारण दुई पाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेको पाइएको छ’, नेपालले भने, ‘युवाले जथाभावी सवारीसाधन हाँक्दा दुर्घटना बढी हुने गरेको छ ।’ –रासस