स्याङ्जामा थपिए आठ सय ९४ नयाँ उद्योग, महिलाका नाममा व्यवसाय दर्ता गर्नेक्रम बढ्दो

Ad
  • कालोपाटी सम्बाददाता

स्याङ्जा । स्याङ्जामा गत आर्थिक वर्ष २०७८-७९ मा आठसय ९४ वटा नयाँ उद्योग थपिएका छन् । जिल्लामा पछिल्लो समय ८९४ वटा कृषि तथा पशुपक्षी र ससानो पुँजीका घरेलु तथा साना उद्योग थपिएका हुन् ।

तुलनात्मकरुपमा जिल्लामा कृषि तथा पशुपक्षीसँग सम्बन्धित फार्म तथा उद्योग बढी थपिएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्रीप्रसाद रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार गत आर्थिक वर्षमा ८९४ घरेलु तथा साना उद्योग थपिँदा वाणिज्य पसल, व्यवसायतर्फ ६८४ वटा नयाँ दर्ता भएका थिए । उद्योग तथा व्यवसाय महिलाका नाममा दर्ता गर्दा शुल्कमा ५० प्रतिशत छुट हुने भएकाले पनि महिलाका नाममा उद्योग तथा व्यवसाय दर्ता गर्नेक्रम बढ्दो रहेको छ ।

आव २०७७÷७८ को तुलनामा आव २०७८-७९ मा उद्योग तथा व्यवसाय दर्तामा कमी आएको छ । आव २०७७-७८ मा एक हजार ४७५ उद्योग दर्ता भएका थिए भने ९६६ पसल तथा व्यवसाय दर्ता भएका थिए । आव २०७७-७८ को तुलनामा गत आवमा ५८१ वटा उद्योग दर्तामा कमी भएको छ भने वाणिज्यतर्फ २८२ दर्ता भएका थिए । पछिल्लो समय स्थानीय पालिकामा व्यवसाय दर्ता गर्ने गरिएकाले पनि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नेक्रम घटेको कार्यालयले जनाएको छ ।

कार्यालयले गत आव मा ७९ वटा उद्योग र एक सय १० वटा वाणिज्य पसल, व्यवसायको दर्ता खारेजी गरेको थियो । जिल्लामा २०७९ असार मसान्तसम्ममा आठ हजार ९१२ उद्योग दर्ता भएकामा पाँच हजार ८८३ वाणिज्य पसल, व्यवसाय दर्ता भई सञ्चालनमा रहेका छन् । कार्यालयले गत आव २०७८-७९ मा उद्योग व्यवसाय दर्ता, नवीकरण, विलम्ब शुल्क, नामसारी, ठाउँसारी, पुँजीवृद्धि, लगत कट्टा तथा खारेजीजस्ता कार्यबाट रु ७० लाख चार हजार ३४५ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख रेग्मीले बताएका हुन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्