बैतडीमा कोरोना कोष स्थापना गरिने, उपचारको दायरमा पुर्‍याउने उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

बैतडी । बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहबाट रु ५० हजारका दरले जम्मा गरी पाँच लाख बराबरको कोष स्थापना हुने भएको छ ।

यहाँ १० स्थानीय तह छन् । केही दिनअगाडि विपद् व्यवस्थापन समितिको बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमितहरुलाई उपचारको दायरमा ल्याउन र उनीहरुलाई सम्बन्धित ठाउँसम्म पुर्‍याउन सहयोग गर्ने उद्देश्यले कोरोना कोष स्थापना गर्ने निर्णय भएको उहाँको भनाइ छ । सङ्क्रमणको चौथो लहरको जोखिम बढिरहेकालाई पूर्वतयारी गर्न थालिएको हो । उनले भनिन्, ‘सीमा नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकाहरुलाई होल्डिङ सेन्टरमा राख्दा र उनीहरुलाई सम्बन्धित ठाउँमा पुर्‍याउन लाग्ने पैसा सो कोषबाट खर्च गरिनेछ ।’

कोरोना कोष स्थापना गरेर त्यसको व्यवस्थापन गर्ने जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ । विपद् व्यवस्थापन समितिको बैठकले प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर र आइसोलेसन, क्वारेन्टिन निर्माण गरिने, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरुको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेस गर्ने निर्णय गरेको छ ।

यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । त्यसका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर अघि बढ्नेसमेत निर्णय भएको छ । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार तीन सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्