सप्तरीको चन्द्रनहर भत्किँदा नगरपालिका डुबानमा

Ad
  • कालोपाटी सम्बाददाता

सप्तरी । अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ । नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको–२ का वडाध्यक्ष जाहिर हुसेनले बताए । वडाध्यक्ष हुसेनका अनुसार अविरल वर्षाका कारण खहरे खोलाबाट आएको बाढीले नहर भत्किएको र अधिकांश वडा डुबानमा परेको छ ।

पूर्वमा सप्तकोशी नदी, पश्चिममा चुरे पहाड र उत्तरमा त्रियुगा नदीको मध्यमा रहेको सप्तकोशी नगरपालिकाका विभिन्न वडाका सयौंं घर डुबानमा परी लाखौं रुपैयाँ बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ । नगरको ११ वटै वडाका घर बाढीका कारण प्रभावित भएको र घर डुबानमा पर्नुका साथै भर्खरै लगाएको सयौं बिघा धान खेती जलमग्न भएको नगरप्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए ।

वर्षाले–१ को वडा कार्यालयमा पानी पसेर कम्प्युटरलगायत कागजपत्र भिजेर क्षति भएको कार्यालयका सहायक राजकुमार रामले बताए । वडा कार्यालय अगाडिको अग्रवाल स्टोरको गोदाममा पानी पस्दा लाखौं मूल्यको खाद्यान्न सामग्री भिजेर नोक्सान भएको मनोज अग्रवालले बताए । रातको समयमा नहर भत्किएर पानी प्रवेश गर्दा सरसमान सुरक्षित गर्न नपाएको स्थानीय रामबहादुर विष्टले बताए । घरमा ६ फिटसम्म पानी जमेका कारण खाद्यान्नलगायत सामग्री बिग्रिएको उनले बताए ।

नगर क्षेत्रमा रहेका खहरे खोलामा ओभरफ्लो भई पानी नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनाएको गुणराज सापकोटाले जानकारी दिए । खहरे खोलामा आउने बाढी पास गर्न बनाइएका साइफनरकल्भर्ट थुनिएका कारण बाढीले नहरमा क्षति पुर्‍याएको स्थानीयको भनाइ छ ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमसेरले निर्माण गराएको चन्द्र नहर मुलुककै सबभन्दा पुरानो सिँचाइ प्रणाली हो । नहरको मुख्य बाँधदेखि गंगा जलीखोलासम्म निर्माण भएका करिब एक दर्जन साइफन बन्द रहने गरेको छ । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्