दार्चुलामा स्याउ उत्पादन बढ्दो, सडक सञ्जाल नजोडीदा ढुवानीमै समस्या

Ad
  • कालोपाटी सम्बाददाता

दार्चुला । दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनका अनुसार जिल्लाभरि दुई सय ४९ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । ‘गाउँगाउँमा स्याउँ उत्पादन राम्रो भएको छ’, अपी हिमाल गाउँपालिका– ४ का स्थानीय जनक ठेकरले भने, “केही समयपछि स्याउ बजारमा आउने अवस्थामा पुगेको छ ।’

स्याउको हरेक बोटमा लटरम्म फलेका छन् ।  अहिले सदरमुकाम खलङ्गामा भारतबाट आयात हुने स्याउ दुई सय ५० प्रतिकेजी पुगेको छ । तर जिल्लाभरि उत्पादन हुने स्याउ सदरमुकामसम्म ल्याउन किसानलाई बाटो नहुँदा समस्या छ । ‘गाउँ नजिक बजार छैन्’, स्याउ कृषक कपुरसिंह धामीले भने , ‘खलङ्गा ल्याउन ढुवानीमै समस्या छ ।’ सडक सञ्जाल नजोडिएको कारण पनि स्याउ बजारमा ल्याएर बिक्री गर्न सकिने अवस्था छैन ।

दार्चुला ब्यासको छाङ्गरु तथा गागामा हजारौँ बिरुवा स्याउ लगाइएकोमा त्यसबाट राम्रो फल लागेको छ ।  तर यहाँ उत्पादन भएका स्याउ बजारसम्म ल्याउन नेपालतिर बाटो नहुँदा किसान मर्कामा परेका छन् । स्याउ जोन दार्चुलाका कार्यालय प्रमुख विष्णुप्रसाद ओझाका अनुसार हरेक वर्ष स्याउ उत्पादन क्षेत्र बढ्दै गएको छ । किसानले उत्पादन बढाउँदै लगेका छन् । किसानले उत्पादन गरेको स्याउ बजारसम्म ल्याउन भने सकिरहेका छैनन् ।

दुर्गम क्षेत्रमा स्याउ उत्पादन भइरहेको छ ।  तर सडक पहुँच नपुगेकै कारण किसानले उत्पादन गरेको स्याउले बजार पाउन नसकेको ओझाको भनाइ छ । जिल्लामा वार्षिक एक हजारभन्दा बढी टन स्याउ उत्पादन हुने गरेको छ । जिल्लामा आर्थिक वर्ष २०७६-७७ मा नौ सय १० मेट्रिक टन र ०७७-७८ मा एक हजार दुई सय १५ मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालय प्रमुख ओझाले बताए ।

२०७६-७७ मा स्याउको बोटमा किरा लाग्नु र मौसममा आएको परिवर्तनका कारण स्याउ उत्पादन घटेको उनको भनाइ छ । जिल्लामा गत वर्ष मात्र स्याउ जोन कार्यालयले ६ हजार पाँच सय बोट स्याउका बिरुवा किसानलाई वितरण गरेको थियो । यहाँको मौसममा सुहाउँदो इटाली, गाला फुजी रोयल, डेलिसियस, गोल्डन डेलिसियस जातका स्याउका उत्पादन गरिएका छन् । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्