बाँकेको राप्तीसोनारीमा पक्की पुल निर्माण, आवागमनमा सहजता

Ad
  • कालोपाटी सम्बाददाता

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहजता भएको छ । राप्ती सोनारी गाउँपालिका –२ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पाँच सय ५० मिटर लामो पक्की पुल निर्माण भएपछि वडा नं ५ बिनौना र वडा नं २ कचनापुरवासीको सिधा सम्बन्ध र सम्पर्क जोडिएको छ ।

पुल नहुँदा वर्षाद्को समयमा आवागमन ठप्प हुने र हिउँदका महिनामा जोखिम मोलेर डुङ्गामार्फत नदी वारपार गर्नुपर्ने बाध्यताको अव अन्त्य भएको बिनौनास्थित भुवर भवानी माध्यमिक विद्यालयका शिक्षक रुद्र डाँगीले बताए । राप्ती नदीवारी कचनापुर निवासी शिक्षक डाँगीलाई नदीपारी बिनौनास्थित विद्यालय पुग्न वर्षाद्को समयमा कठिन हुनेगर्दथ्यो ।

अहिले पुल बनेपछि बिनौना र कचनापुरवासीलाई आवागमनमा सहज भएको उनको भनाइ छ । पुल नहुँदा कचनापुर र बिनौनावासीलाई सवारी साधनमार्फत नदी वारपार गर्न करिब २५ किलोमिटर टाढा अगैया पुग्नुपर्ने बाध्यता रहेको थियो । पुलको निर्माणकार्य सम्पन्न भएर सवारीसाधन चल्न थालेपछि कचनापुर र बिनौना क्षेत्रका हजारौं सर्वसाधारणले राहात महसुस गरेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरका वडाध्यक्ष ज्ञानेन्द्र वलीले बताए ।

विसं २०७४ बाट निर्माण सुरु भएको उक्त पक्की पुल ५ वर्षभित्र गत असार मसान्तमा निर्माण सम्पन्न गर्ने सम्झौता अनुरुप कम्पनीले पुलको निर्माणकार्य सम्पन्न गरेको छ । तुँण्डी रसुवा कुमार श्रेष्ठ जेभीले रु ७३ करोडको लागतमा सो पुलको निर्माणको ठेक्का पाएको थियो । ११ वटा पिल्लर रहेको उक्त पक्की पुल ७.५ मिटर चौडाई पिच र पुलको दुवै साइडमा १ः७५ मिटरको पैदल यात्रुका लागि बाटो गरी जम्मा ११ मिटर पुलको चौडाइ रहेको छ ।

पुलको निर्माणकार्य समयमै पूरा भई सञ्चालनमा आएपछि आवागमनमा जनतालाई निकै सहज भएको राप्तीसोनारीका नागरिक अगुवा रामदास थारुले बताए । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्