९७ वर्षीय फरासिला बाजेको निरसिलो कथा : ‘रोगले छोएन, दुःखले छोडेन’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका ९७ वर्षिय खड्गबहादुर थापा । उमेरले ९७ औं वसन्त पार गरेपनि उनले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सकेनन् । स्वस्थ शरीर र फरासिलो अनुहार भएपनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो ।

करिब एक दशक अघि खुट्टामा चोट लागेर अस्पतालमा जानु बाहेक यो उमेरसम्म बिरामी भएर कहिल्यै सुत्न नपरेको भए पनि नियतिले उनलाई सुखसँग कहिल्यै बस्न दिएन । श्रीमती खिरकुमारीसँग सामान्य छाप्रोमा बस्दै आएका थापा दम्पत्तिलाई स्याहारसुसार गर्ने आफ्नै सन्तान छैनन् । झण्डै ४० वर्षअघि छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ पीडा थपियो ।

त्यतिबेला त जेनतेन सहेरै बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ छोरा नहुनुको पीडा चहयाइरह्यो, दुखी रह्यो । थापा दम्पत्तिका मुख नबोल्ने एउटी छोरी पनि विवाह गरेर बेनी नगरपालिका ३ तोराखेत पुगेकी छन् । बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने थापा लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध दही ल्याएर खाने गर्छन् ।

उनको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर जीवनको एक मात्र सहारा पत्नी पनि आफूभन्दा पहिला छुट्लिन् मृत्यु होला कि भन्ने पिरले उनलाई सताउने गर्दछ । सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस । आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीलाई बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर र हिराबहादुरले हेर्ने गर्छन् ।

वृद्धभत्ता नै बाँँच्ने सहारा

मनमा जति पीर र चिन्ता भए पनि थापा दम्पत्ति खानेकुराको भने सौखिन नै छन् । जेष्ठ नागरिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम र इष्टमित्रको सहयोगले थापा दम्पत्तिलाई के खाउँ र के लाउँको समस्या भने छैन । बिहान ६ बजे उठेर शौचादी कर्मपछि घरको तलपट्टिको धारामा नुहाएर आएपछि निधारमा चन्दन लगाएर दैनिक एक घण्टा हात जोडेर भगवानको नाम उच्चारण गर्दै बस्छन् ।

त्यसपछि चिया बनाएर खाएपछि लठ्ठीसहित गाउँमा निस्कने थापा ९ बजेतिर खाना खान घर आउने र खाना खाएपछि छिमेकीको घरमा गएर ठ्ट्यौला कुरा गरेर हसाउने छिमेकी पदमपाणी शर्माले बताए । ‘मनमा जति ठूलो पीर भए पनि मुहारमा कहिल्यै पनि देखाउनु भएन, यो उमेरसम्म बिरामी भएर सुतेको कहिल्यै थाहा पाइएन्’ शर्माले भने । उमेरले नेटो काटे पनि उनको स्वभाव भने बालसुलभ नै छ । स-साना बालबालिकासँग जिस्कदै अझै केटाकेटीसँग खेल्ने र रमाउने उनको बानी रहेको छ ।

रोगले छोएन, दुःखले छोडेन

पचास वर्षको उमेर पार गर्न नपाउँदे नानाभाँतीका रोगले सताउने गरेको अहिलेका मानिसका लागि थापा अपवाद हुन् । रोगको बारेमा सोध्दा उनले ठट्यौली शैलीमा भने, ‘चिनी खाँदा मुख गुलियो र करेला खाँदा मुख तीतो हुने रोग छ बाबु मलाई । राति अलि धेरै खाँदा पेट साह्रो हुन्छ, बिहान उठ्दा गिलोगिलो हुन्छ, अरु त केही हुँदैन ।’ उमेरमा अरुको ज्याला मजदूरी र बनिबुतो गरेर जीविका चलाएकी उनकी श्रीमती खिरकुमारी पनि कम रङ्गिली छैनिन्न ।

असी बसन्त पार गरिसकेकी खीरकुमारीका दुःख भनिसाध्य छैन । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म घरधन्दाले कहिल्यै नछोड्ने खिरकुमारीले विगतलाई सम्झँदै भनिन् ‘घर पनि थियो, कमाइ खान अलिअलि सम्पत्ति पनि थियो, तर ३९ वर्ष अघि छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदियौं अनि झारेगैरा तराई गयौं, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आयौं, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौंँ ।’

‘सय कटे बिहे गर्थें’

मनमौजी थापाका उट्पट्याङ कुरा सुन्नेहरुलाई पेट मिचीमिची हाँस्न बाध्य बनाउँछन् । उनका रसिला गफ सुन्न गाउँका बुढापाका मात्र नभई केटाकेटी र युवायुवती झुम्मिने गर्छन् । आइतबार साँझ छिमेकीको घरमा गफिन गएका थापा भन्छन्, ‘सय वर्ष कटेपछि बिहे गर्ने रहर छ ।’ थापाको कुरा सुनेपछि छिमेकी पदमपाणी मरीमरी हासिन् । बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गतको सामाजिक सुरक्षा भत्ता पाउँछन् ।

सोही रकमले घरको केही खर्च चल्ने गर्छ । अझैसम्म पनि थापा दम्पत्तिले खसीको मासु खान छोडेका छैनन् । गाउँमा खसी काटे भने सबैभन्दा पहिला थापा नै पुगेर आफ्नो भाग माग्छन् । घरमा ल्याएर प्रेसर कुकरमा धेरैबेर पकाएपछि बूढाबूढीले जिस्कदै खाने उनका छिमेकी शर्माले बताए । श्रीमती खिरकुमारीलाई आफूले फकाएर बिहे गरेको र माइतबाट भगाएर घरमा ल्याएको बताउने थापाले आफ्नी श्रीमतीलाई ‘च्याखुरी बजै’ भनेर जिस्क्याउने गर्छन ।

‘पहिला त मलाई खुब मन पर्थिन यिनी, अहिले त.. भनाइ पूरा नगरिकन खित्का छोडेर हाँस्दै थापाले भने ‘सय वर्षसम्म बाँचे भने त अर्की ल्याएर सबैलाई देखाउँथे ।’ दिनभरि गाउँ घुमेर र छिमेकीहरुसँग गफिएर समय बिताए पनि रात परेपछि भने थापा दम्पत्तिलाई निकै नियास्रो लाग्ने गर्छ । नाता सम्बन्ध, घर व्यवहार र समय परिवेशका कुरा गर्न नपरेपछि सधैंभरि बूढाबूढीले गन्थन गर्ने विषय भनेको एउटै हुन्छ  ‘छोराछोरी भैदिएको भए कति जाति हुन्थ्यो होला ?’

रात अबेरसम्म निद्रा नलागेपछि बूढाबूढी बाहिर निस्केर आँगनमा बस्छन् । त्यहाँ बस्दै आएको कुकुर थापा दम्पत्तिको साथी बन्छ । उनले एउटा सेतो कुकुर पालेका छन् । घरको सुरक्षा गर्नेदेखि बूढाबूढीको साथी बनेको त्यस कुकुरलाई उनिहरुले ‘सेते’ नामले बोलाउँछन् । त्यही कुकुरलाई सुम्सुम्याउछन्, माया गर्छन् र एकोहोरो आफ्नो कुरा कुकुरलाई सुनाउछन् ।

‘बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ’ थापाले भने ‘यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौं भनेर श्रीमतीलाई भनें तर उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ ।’ ठट्यौला थापाका यस्ता निरस लाग्ने कुराले सबैका आँखा रसाएर आउँछ । सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ ।

खिरकुमारीले पनि ८० वसन्त पार गरिसकेकी छन् । शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम पत्नी खिरकुमारीले नै गर्दै आएकी छन् । ‘शरीरमा थोरै तागत भएका बेला आफैं काम गर्दै आएका छौँ, ‘खिरकुमारीले भावुक बन्दै भनिन् ‘बुढेसकालले छोपेपछि जीउन निकै सकस भएको छ ।

हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ । निकै कष्टकर जीवन बिताउनु परेको छ । यस्तो कसैलाई पनि नपरोस् ।’ थापा दम्पत्तिको यस्तो दुःख देखेर थापाका दाजुभाइका छोराहरु हीराबहादुर, दुर्गाबहादुर र हर्कबहादुरले आफैँसँग राख्न वा खाली रहेको घरमा बस्न पटकपटक आग्रह गरेपनि थापा दम्पत्ति मान्दैनन् । उनिहरु भन्छन् ‘बुढेसकालमा यही गोठमा नै आनन्द छ, घर लिपपोत गर्ने सामथ्र्य छैन ।’

हजुरबुबा र आमाको दुःख कम गर्न हाल जापानमा रहेका उनका नाति सागर थापाले खाद्यान्न, लत्ताकपडा लगायत अन्य कुराहरुको सहयोग गर्ने, घर लितपोत गर्न एक जना मान्छे राखिदिने बताए पनि थापा दम्पत्तिले मानेनन् । उनि भन्छन् ‘यो उमेरमा अरुलाई दुःख दिन मन नै मान्दैन । नातिको पनि आफ्नै समस्या छन्, घर व्यवहार छ, ठूलै समस्या परे गुहार्नुपर्छ ।

अहिले जनतन चलेकै छ, त्यसैले उनीहरुलाई दुःख दिन पनि मनले मान्दैन ।’ आफूले दुःख पाएर पनि अरुलाई दुःख दिन नचाहने थापा दम्पत्ति गाउँमा सबैका प्यारा छन् । कसैलाई तीतो वचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाको गाउँलेहरुले पनि दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् ।रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्