दोलखामा पहिरो जाँदा सिंगटी बजारका ६५ घर उच्च जोखिममा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । दोलखाको बिगु गाउँपालिका सिंगटी बजार क्षेत्रमा पहिरो गएको छ । बुधबार साँझ परेको अविरल वर्षाले विगु गाउँपालिका ४ सिंगटीको खोलीखेम बजारका ८ घरमा क्षति भएको र ६५ घर उच्च जोखिममा परेका हुन् । अति जोखिममा परेका घरका बासिन्दाहरु त्यहाँबाट विस्थापित भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

खोलीखेमबाट लादुकतर्फ उक्लिने सडकका कारण सिंगटी खोलिखेम क्षेत्रमा पहिरोले वर्षेनी दुख दिने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । सोही ठाउँमा गत २३ गते पनि पहिरो जाँदा चार वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । गएरातिको वर्षासँगै झरेको पहिरोले थप घरहरुमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्सपेक्टर सानु तामाङका अनुसार पानी लगातार परिरहेकोले सिंगो बजार क्षेत्रका ६५ घरपरिवार नै जोखिममा छन् ।

पहिरो गएको सिंगटी बजार क्षेत्रमा अहिले नेपाल प्रहरी, विगु गाउँपालिका र स्थानीयहरु मिलेर बाटो पन्छाउने र सफा गर्ने काम भइरहेको प्रहरी प्रवक्ता तामाङले जानकारी दिए । उनका अनुसार दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा सहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु पहिरो गएको क्षेत्रमा पुगेका छन् ।

उनले भने,  ‘हामीले जोखिममा परेकाहरुलाई त्यहाँबाट सुरक्षित स्थानमा पठाइसक्यौं,  इलाका प्रहरी कार्यालय सिंगटीको भवन पनि जोखिममा छ । बजारका घर र पसलहरुमा लेदो माटो छिरेको छ । बसाइ जोखिमपूर्ण भएपछि केही मानिसहरु वरपरका घर र आफन्तको बसेका छन्’ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्