‘चुनावमा म्यादी प्रहरी भन्दा पूर्व सुरक्षाकर्मी र राष्ट्रिय सेवा दलको प्रयोग व्यवहारिक हुन्छ’ : आयुक्त थपलिया

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षामा म्यादी प्रहरी भन्दा पूर्व सुरक्षाकर्मी र राष्ट्रिय सेवा दलको प्रयोग व्यवहारिक हुने बताएका छन् । आइतबार आयोगले पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त थपलियाले निर्वाचनको सुरक्षामा म्यादी प्रहरीको सट्टा पूर्व सुरक्षाकर्मी र राष्ट्रिय सेवा दललाई प्रयोग गर्न सरकारलाई सुझाव समेत दिएका थिए ।

उक्त  छलफलका क्रममा केही पत्रकारहरुले राखेको सो सम्बन्धी प्रस्तावमाथि आयोगले यसअघि नै छलफल गरी सरकारलाई सुझाव दिएको थपलियाले उल्लेख गरे । उनले पूर्व सुरक्षाकर्मी तथा जनसेवा दलको प्रयोग गर्दा नयाँ ड्रेस खरिद गर्ने रकम बचत हुने बताउँदै सुरक्षा कार्य पनि प्रभावकारी हुने बताए ।

प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचन सुरक्षामा सेवा निवृत्त सुरक्षाकर्मीलाई लगाऊँ । जुन पदबाट सेवा निवृत्त भएको छ, सोही पद अनुसारको तलव सुविधा दिउ । हिजो सुरक्षाकर्मीको ड्रेस त पक्कै थियो त्यही ड्रेस लगाएर आउनु भनेर यो ड्रेसको खर्च पनि घटाऔँ । भर्खर किनेको नयाँ कडा आइरन लगाएको १५ दिनअघि सिलाएको लुगा लगाउनुपर्नेछ भन्ने त छैन । सुरक्षाकर्मी छ भनेर ड्रेसले चिनाउने न त हो । यो भयो भने खर्चपनि घट्छ, तालिमप्राप्त जनशक्ति पनि हुन्छ ।’ अर्कोतिर तालिमप्राप्त नै राष्ट्रिय सेवा दलमा करिब ३० हजार हाराहारीको जनशक्ति छ भन्ने हामीले जानकारी पाएका छौँ । त्यो राष्ट्रिय सेवा दललाई पनि प्रयोग गरौँ । सो संख्याबाट पनि पुगेन भने गत स्थानीय तहमा भर्ना भएका तालिमप्राप्त केही म्यादीलाई पनि लिँदा पनि राम्रो हुन्छ भन्ने आयोगको सुझाव छ ।’

प्रमुख आयुक्त थपलियाले यसबारे आयोगले निर्णय गरेर सरकारलाई लिखित रुपमा सुझाव दिएको जानकारी दिए । निर्वाचनमा पूर्व सुरक्षाकर्मी परिचालनमा नै आयोगको जोड हुने बताउँदै स्थानीय तहको निर्वाचनका बेला पनि सरकारलाई यही सुझाव दिएको बताए । यसबारे आयोगले फेरि सरकारसँग छलफल गर्ने उनको भनाई छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्