‘सम्पत्तिको ५० प्रतिशत फाउण्डेशनमार्फत शिक्षा र स्वास्थ्यमा खर्च गर्छु’ : राज्यमन्त्री श्रेष्ठ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो सम्पत्तिको ५० प्रतिशत ट्रष्ट फाउण्डेशनमार्फत शिक्षा र स्वास्थ्यमा खर्च गर्ने बताएका छन् । भरतपुर आँखा अस्पतालको निरीक्षणपछि उनले आफ्नो सम्पत्ति पनि फाउण्डेशनमार्फत सामाजिक क्षेत्रमा खर्च गर्न बताएका हुन् ।

नेपालको शिक्षा क्षेत्रमा परिचित श्रेष्ठको जलविद्युत्मा मात्रै रु ४० अर्बभन्दा बढी लगानी रहेको छ । चार नाफारहित अस्पताल बनाउँदै गरेको समेत उनले जानकारी दिएका छन् । राज्यमन्त्री श्रेष्ठले भने, ‘ठूला लगानी रोकेर आयको आम्दानीबाट सामाजिक क्षेत्रमा सेवा गर्ने सोच बनाएको छु ।  अरु ठाउँबाट कमाएर सेवाको भावनाले खोल्नुपर्छ भनेर चार अस्पताल बनाउँदैछु ।’

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले जग्गाको लालपुर्जा पाउनुपर्ने भन्दै उनले आवश्यक पहलकदमी गर्ने बताए । उनले भने, ‘अस्पतालले लालपुर्जा पाउनैपर्छ, मन्त्रिपरिषद्बाट निर्णय भइसकेको कुरा किन पाएन ?’  हाल भरतपुर आँखा अस्पताल रहेको जग्गाको लालपुर्जा भरतपुर अस्पतालका नाममा छ ।

सफल स्वास्थ्य संस्था र धेरै सेवा दिनेलाई आवश्यक बजेट दिनुपर्ने उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले भने , ‘व्यवस्थापन र स्रोतमा हाम्रा कमीकमजोरी छन् । चितवनका धेरै अस्पतालको स्रोत यहीँ जुटाउन सकिन्छ ।’ आफूले चितवनका धेरै अस्पतालको अनुगमन गरेको भन्दै उनले शिक्षा र स्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए । राज्यमन्त्री श्रेष्ठले भने , ‘चितवनका अस्पतालमा धेरै गर्न सकिन्छ । यहीँबाट स्रोत सिर्जना गर्न सकिन्छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्