नागरिकता विधेयक गठबन्धनको घोषणाले नहुने तर वास्तविक नेपालीले नागरिकता पाउनुपर्नेमा सांसद रावलको जोड

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सांसद डा. भीमबहादुर रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति भण्डारीको कदम उचित मात्र नभई राष्ट्रियता रक्षाका लागि उनको कर्तव्य नै भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ का सम्बन्धमा सांसद रावलले आफ्नो धारणा राख्दै राष्ट्रियताको रक्षाका लागि राष्ट्रपतिले आफ्नो संवैधानिक कर्तव्य पूरा गरेको बताएका हुन् ।

उनले नागरिकता जस्तो विषय गठबन्धनको घोषणाले नहुने तर वास्तविक नेपालीले नागरिकता पाउनुपर्नेमा सबैको मत भएको धारणा राखेका छन्  । राष्ट्रपतिले फिर्ता गरिसकेपछि संसदीय समितिमा छलफल गर्न तयार नहुनु लोकतान्त्रिक अभ्यास नभएको रावलको भनाइ थियो ।

त्यस्तै छलफलको क्रममा सांसद अनिलकुमार झाले युवाको भविष्यलाई हेरेर नागरिकताबाट बञ्चित गर्न नहुने भन्दै बाबु र आमा नेपाली नागरिक भएर पनि नागरिकता नपाउँदा राज्यविहीन हुने अवस्था भएको बताएका छन् । सांसद महेश बस्नेतले पनि नागरिकलाई नागरिकता दिने विषयमा कुनै पनि समस्या नभएको तर तेस्रो मुलुकका व्यक्तिले नेपाली नागरिक विवाह गर्दा नागरिकता लिएर यहाँ बस्छ भन्ने सोच्न नहुने धारणा राखे ।

नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथिको छलफलमा सांसदहरुले धारणा राख्नेक्रम जारी छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्