तीन महिनापछि सुकेटार विमानस्थलमा उडान, होटल व्यवसायी र सर्वसाधारण उत्साहित

Ad
  • कालोपाटी सम्बाददाता

ताप्लेजुङ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौंबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौं फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए ।

उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यलयले जनाएको छ । ताप्लेजुङबाट काठमाडौंसम्मका लागि हाल रु नौ हजार दुई सय भाडादर छ । सुकेटार विमानस्थलमा गत जेठ १५ गते अन्तिम उडान भएको थियो ।

यात्रुले टिकट बुकिङ गरेपनि मौसमकै कारण जहाज आउन नसकेपछि उडान बन्द भएको थियो । लामो समय अवरुद्ध भएको उडान सुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन् । उडानले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर पूजापाठ गर्न आउने तीर्थयात्रीलाई सहज हुने छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्