कृषिमा आत्मनिर्भर बन्न सामुदायिक फार्म सञ्चालन, कृषकलाई व्यावसायिक बनाउने उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले कृषिमा आत्मनिर्भर बन्न आफ्नै लगानीमा घारे सामुदायिक कृषि फार्म सञ्चालनमा ल्याएको छ । कृषकलाई व्यावसायिक बनाएर आधुनिक कृषिमा जोड दिँदै उनीहरुलाई नमूनाका रुपमा देखाउन गाउँपालिकाले करिब रु ६० लाख लागतमा कृषि फार्म सञ्चालनमा ल्याएको हो ।

करिब एकसय २० रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएर कृषि फार्म सञ्चालन गरिएको छ । पूर्वको एक नमूना कृषि फार्म बनाउने गाउँपालिकाले जनाएको छ । यसलाई कृषि अनुसन्धान स्थलका रुपमा स्थापित गर्ने लक्ष्यसाथ माछापालन, कागती खेती, बाख्रापालन फलफूल तथा तरकारीखेती गरिएको छ । यो गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । फार्ममा अहिले प्रत्यक्षरुपमा तीन जनाले रोजगारी पाएका छन् ।

कृषिमा चासो राख्ने कृषकले फार्ममा गएर पशुपालन, फलफूल तथा तरकारीखेती प्रविधिका विषयमा प्रत्यक्षरुपमा ज्ञान लिन सक्नेछन् । खेतीमा नयाँ प्रविधि भित्र्याएर यहाँको भूमिलाई कृषि पर्यटनका रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले बताए । परम्परागत खेती प्रणाली निर्वाहमुखी मात्र भएकाले स्थानीय कृषकलाई व्यावसायिक खेतीमा जोडेर गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने सोच रहेको अध्यक्ष राईको भनाइ छ ।

हाम्रो मुख्य बाँच्ने आधार कृषि हो, अध्यक्ष राईले भने गाउँपालिकालाई कृषिमा नमूना बनाउने लक्ष्य छ । यो सामुदायिक कृषि फार्म यही उद्देश्यले सञ्चालनमा ल्याएका छौँ । यसको सम्पूर्ण आर्थिक व्यवस्थापन गाउँपालिकाले गरिरहेको छ । घारे सामुदायिक कृषि फार्मको नामबाट सञ्चालनमा आएको यसलाई एक कृषि अनुसन्धान गर्ने ठाउँका रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ । त्योसँगै गाउँपालिकाको आन्तरिक आर्थिक स्रोतका रुपमा स्थापित गर्ने उनले बताए ।

फार्मलाई उत्पादन र रोजगारसँग जोडेर लैजाने उनको भनाइ छ । अध्यक्ष राईले भने, ‘यसलाई कृषिको अनुसन्धान केन्द्रका रुपमा स्थापित गराउने लक्ष्य छ । कृषकलाई व्यावहारिक ज्ञान दिन पनि सहज छ । यो फार्मलाई गाउँपालिकाको आर्थिक स्रोतसँग जोड्दै स्थानीयलाई रोजगारी प्रदान गर्छौं ।’ आगामी दिनमा स्थानीय ऐनको निर्माण गरेर निजी लगानी कर्ता भित्रयाएर थप विस्तार गरेर लैजाने गाउँपालिकाले जनाएको छ ।

लगानीका आधारमा फार्मबाट आएको आम्दानीलाई गाउँपालिकाको आयस्रोतका रुपमा राख्ने जनाइएको छ । ‘यो फार्म सञ्चालनका लागि गाउँपालिकाको आफ्नै नीति बनाउछौँ, अध्यक्ष राईले भने, ‘त्यही नीतिका आधारमा यसको विकास तथा विस्तारमा जोड दिएर गाउँपालिकाको आर्थिक स्रोतका रुपमा विकास गर्ने योजना छ ।’ फार्ममा कागती, एभोकार्डो, किबी, टिमुर, आँप लिचीलगायत फलफूलका बिरुवमा उत्पादन भइरहेको छ ।

आधुनिक प्रविधिको खोरमा बाख्रापालन, माछापालन भइरहेको छ । त्यस्तै टमाटर, प्याज, बन्दाकोभीलगायत विभिन्न खालका तरकारीको खेती थालिएको छ । कृषकलाई प्रत्यक्षरुपमा खेतीका विभिन्न प्रविधिका विषयमा जानकारी दिएर सिकाउँदा काम गर्न सहज हुने गाउँपालिकाका कृषि शाखा प्रमुख भूमिश्वर यादवले जानकारी दिए । शाखा प्रमुख यादवले भने , ‘अहिले हामीले नै यसको प्रत्यक्ष निगरानी गरिरहेका छौँ ।

खेती गर्न इच्छुक किसानलाई प्रत्यक्षरुपमा ज्ञान दिन्छौँ । आवश्यक मापदण्डसँगै प्रविधिको प्रयोग गरेर खेती गरेमा कृषिबाट राम्रो लाभ लिन सकिन्छ ।’ आफूले खेती गर्दा नजानेको कुरा फार्मबाट सिक्ने अवसर पाएको स्थानीय कृषक शिवकुमार राईले बताए । ‘गाउँपालिकाले नै फार्म सञ्चालन गरेर नमुनायोग्य काम गरेको छ’, कृषक राईले भने, ‘हामीलाई फार्मबाट धेरै सिक्ने अवसर मिलेको छ । खेतीको नयाँ प्रविधिका विषयमा जान्न मन लागेमा यहाँ आएर हेर्छौं ।’

गाउँपालिकाले सञ्चालन गरेको फार्ममा रोजगारी पाउँदा खुसी लागेको स्थानीय समीक्षा मगरले बताए । विदेशमा श्रम गर्न जानुभन्दा आफ्नै ठाउँमा कृषि कर्ममा रमाउन पाउँदा खुसी लागेको मगरको भनाइ छ । काम गर्दै सीप सिक्ने अवसर पाएको उनले बताए । मगरले भने , ‘आफ्नै ठाउँमा रोजगारी पाउँदा निकै खुसी लागेको छ । हामी तीन जनाले यहाँ रोजगारी पाएका छौँ । यसको विस्तार हुँदै जाँदा अझै अन्य स्थानीयले पनि रोजगारी पाउने अवस्था छ ।’

गाउँपालिकाले यहाँ चियाखेतीकोसमेत विस्तार गरिरहेको छ । करिब एक हजार पाँच रोपनी क्षेत्रमा लगानी गरेर काम भइरहेको गाउँपालिका उपाध्यक्ष सीता राईले बताए । दक्षिणी क्षेत्रबाट तराईका जिल्लासँग दुरी छोटो भएकाले यो क्षेत्र भविष्यमा धनकुटाको भेडेटार जस्तै बन्ने सम्भावना रहेको उपाध्यक्ष राईको भनाइ छ । चिया खेती विस्तारको काम पनि धमाधम भइरहेको छ ।

‘हामीले कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य लिएका छौँ, उपाध्यक्ष राईले भने, ‘यहाँ धेरै चियाका लागि उपयुक्त जमिन छन् । ती ठाउँमा गाउँपालिकाको लगानीमा खेती विस्तार भइरहेको छ । यो क्षेत्र तराईका जिल्लाबाट नजिकै पर्ने भएकाले मानिसलाई प्राकृतिक मनोरञ्जन लिने ठाउँ बनाउने उद्देश्य छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्