अलैँचीको लगातार मूल्य घट्न थालेपछि किसान चिन्तित

Ad
  • कालोपाटी सम्बाददाता

इलाम । इलाममा अलैँची जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको छ । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् । रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् ।

उच्च मूल्य हुँदा प्रति मन ४० किलोग्राम रु एकलाख माथिले बिक्री भएको अलैँचीलाई खोल्साको कालो सुनको उपनामसमेत दिइएको छ । तर सोही अलैँची हाल करिब ३० हजार प्रति मन बिक्री हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष भाउ घटेको छ । बर्सेनि भाउ ओरालो लाग्न थालेपछि किसान चिन्नित बनेका छन् । पछिल्लो समय अन्नबाली मासेर किसानले बारीमा अलैँची लगाउन थालेका छन् ।

एकातिर विभिन्न रोगले अलैँची मासिने र अर्कातिर भाउ घट्दै गएपछि अलैँचीको विकल्प खोज्नेतिर किसान पुगेका छन् । भारतको बाटो भएर विदेश निर्यात हुने अलैँचीले देशको अर्थतन्त्रमासमेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर सरकारी क्षेत्रबाट मासिँदै गरेको अलैँची ब्यूँताउन खास किसान समक्ष कार्यक्रम नै नल्याएको किसानको गुनासो छ ।  गएको वर्ष खरिद गरेर राखिएको अलैँची यसवर्ष बढी मूल्यमा बेच्ने आशामा राखिएको भए पनि मूल्य घटेपछि व्यवसायीसमेत चिन्तित छन् ।

यसवर्ष प्रतिमन ३२ हजारले खरिदबिक्री भइरहेको इलाम बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले बताए । उनका अनुसार राम्रो माल मात्र सो मूल्यमा किन्न सकिन्छ । अलैँची टिप्ने कामदारलाई पनि उच्च मूल्य दिइने गरिएको छ । वर्षभरी पानी लगाउने, मलजल र स्याहार गर्ने खेताला लगाएर अलैँची टिप्ने साथै छोडार सुकाउन्जेलमा किसानलाई धेरै नाफा नहुने उहाँहरुको भनाइ छ । नेपालमा ४० जिल्लामा यसको खेती हुँदै आएको बताइएको छ ।

प्रदेश नं १ को इलामसहित पाँचथर तेह्थुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङमा यसको व्यावसायिक उत्पादन हुने गरेको छ । नेपालमा १८ हजार दुई सय ७३ हेक्टरमा अलैँची खेती हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । साथै सात हजार नौ सय ५४ मेट्रिक टन वार्षिक अलैँची उत्पादन हुँदै आएको बताइएको छ । सरकारले नेपालको अलैँची नेपालमा नै प्रशोधन गर्न पहल गरे यसको मुल्य पुन बढ्न् किसानको भनाइ छ । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्