मिटरब्याजी आरोपितविरुद्ध सर्लाहीमा चार सय २७ उजुरी

Ad
  • कालोपाटी सम्बाददाता

सर्लाही । मिटरब्याजी आरोपितविरुद्ध चार सय बढी पीडितले उजुरी दिएका छन् । सरकारले आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्लामा चार सय २७ पीडितले मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् ।

सरकारले गरेको आह्वानपछि जिल्लामा विभिन्न समयमा मिटरब्याजीबाट पीडित बनेका चार सय २७ जनाले उजुरी दिएका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले दिए । उनका अनुसार सरकारले यही भदौ ५ गतेसम्म उजुरी दिन समय दिएको भए पनि कतिपयको अहिले पनि उजुरी दिइरहेको छ । भदौ ५ गतेपछि आएका उजुरीको छुट्टै लगत राखेर दर्ता गरिरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

जिल्लामा धेरै उजुरी गत बिहीबार परेको र पीडितले जिल्ला सदरमुकाम मलङ्वामा प्रदर्शनसमेत गरेका थिए । पीडितले गरेको प्रदर्शनमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले समेत सहभागिता जनाएका थिए । लामो समयदेखि शुद्धखोर अभियानमा लाग्नुभएका नगर प्रमुख बुढाथोकीले प्रदर्शनमा उत्रिएका पीडितको पदर्शनलाई समर्थन जनाएका हुन् ।

जिल्लामा मुख्यत मिटरब्याजी आरोपितमा श्यामकृष्ण साह, रामबाबु राय र सञ्जय साह रौनियारको नाम पहिलादेखि नै चर्चामा रहेको भए पनि पछिल्लो समय इन्दल राय, रामस्वरुप राय र रामचन्द्र रायलगायतका नाममा पनि उजुरी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  आरोपितमध्ये ब्रह्मपुरी गाउँपालिका– २ त्रिभुवननगर निवासी सञ्जय अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।

प्रहरीले उनीविरुद्ध मिटरब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोख्रेलले बताए । अन्य आरोपित फरार रहेका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्