दरबारमार्गमा रहेका अवैध संरचना तत्काल हटाउन प्रमुख बालेन साहको निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । दरबारमार्गमा रहेका अवैध संरचना तत्काल हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले निर्देशन दिएका छन् । महानगरपालिका भित्र नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना हटाउन प्रमुख साहले निर्देशन दिएका हुन् ।

महानगरपालिकाले मङ्गलबारदेखि नक्सा पासविपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचाना हटाउन थालेको छ ।नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो । उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौं मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ ।

हाल बेसमेन्ट र भूमिगत पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको कामपाले जनाएको छ । संरचना निर्माणका सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अपनाइने कामपाका प्रमुख साहको सचिवालय सदस्य सुनिल लम्सालले बताएका छन् ।

यसअघि नयाँबानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसलसमेत हटाइएको स्मरण गराउँदै उनले भने, ‘अब विगतमा झैँ मनोमानी चल्दैन ।’ अवैध संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउने भन्दै कामपाले ३५ दिने सूचना जारी गरेको थियो । सार्वजनिक सूचनाको बेवास्ता गरेपछि अवैध संरचना हटाउन थालिएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्