‘दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता हो’ : नेता डा कोइराला

Ad
  • कालोपाटी सम्बाददाता

मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्धारा आइतबार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको बताएका हुन् । नेता डा. कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताए ।

उनले नेकांले विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभामा विजयी भएका स्थान आफूले राख्नुपर्नेमा जोड दिँदै ७७ जिल्लामा सङ्घीय संसद् वा प्रदेशसभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको धारणा राखे । नेता डा कोइरालाले पार्टी र सरकारमा सुशासन र पारदर्शीता हुनुपर्ने भन्दै जनताप्रति उत्तरदायी भएर जनताको काम छिटो गर्न पनि सुझाव दिए ।

उनले जनतासँग जोडिने कार्य पार्टी र सरकारले गर्नुपर्ने भन्दै कांग्रेसले आगामी निर्वाचनबाट मुलुकमा दण्डहिनताको अन्त्य चाहेको धारणा राखे ।  प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कार्यकर्ताले आगामी निर्वाचनमा जनताको घरघरमा पुगी उनीहरुको मन जितेर मत माग्नुपर्ने बताए ।  केन्द्रीय सदस्यद्वय डा डिला सङ्ग्रौला र रुक्मिणी कोइरालाले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी लाग्न कार्यकर्तालाई आग्रह गरे ।

कांग्रेस मोरङका उपसभापति एवं विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विगतका तिक्ततालाई हटाई कार्यकर्ता एकढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने धारणा राखे । क्षेत्र नं ६ का सभपति देवराज तामाङ, प्रदेशसभा सदस्य चुमनारायण तवदार, नेपाल तरुण दल महानगर सभापति दीपक चापागाई र मधुबाबु तिवारीले पार्टीभित्र निष्ठावान् कार्यकर्ताको मूल्याङ्कन हुनुपर्ने धारणा राखे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्