भन्सार जाँचपास भएका मालवाहक गाडी प्रहरीको नियन्त्रणमा

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर । भन्सार जाँच भएर आएका मालवाहक गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । गएको शुक्रबार भारत हुँदै नेपाल भित्रिएको चिनीयाँ स्याउ बोकेको पाँच भारतीय कन्टेनरसहित आठ वटा गाडी मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१३ बाट नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयमा सामानको जाँचपासका क्रममा मूल्याङ्कन कम गरिएको हुनसक्ने आशङ्कामा प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ । मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठका अनुसार सामानमा शङ्का लागेकाले वास्तविकता के छ भनेर अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएको हो ।

चीनबाट भारतको कोलकाता हुँदै नेपाल भित्रिएको भारतीय नम्बर प्लेटका पाँच वटा कन्टेनरसहित तीन वटा नेपाली ट्रकलाई गोदाममा नलगी सडकमै रोकेर नेपाली नम्बर प्लेटका ट्रकमा स्याउ ‘अनलोड’ गरिरहेका बेला साँझपख नियन्त्रणमा लिएको थियो । भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम भिसिटिएसमा विवरण नभरिकन स्याउ ढुवानी गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रहरीले कागजात माग्दा चालकले आवश्यक कागजातसहित भन्सारका अन्य कागजपत्र उपलब्ध गराउन नसक्दा अनुसन्धानका लागि नियन्त्रणमा लिएर राजस्व कार्यालयमा बुझाएको प्रहरीको भनाइ छ । भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामान सम्बन्धित ठाउँमा पु¥याएर मात्रै अन्य गाडीमा हाल्नुपर्ने नियम रहेको प्रहरीले जानकारी दिएको छ भने भारतीय कन्टेनरमा लोड गरिएको सामानको विराटनगर भन्सार कार्यालयले जाँचपास गराएको थियो ।

प्रहरीले सामान लोड गरिएका साधन नियन्त्रणमा लिनेबित्तिकै भन्सारले आपत्ति जनाउने गरेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले भन्सार जाँचपासमा कुनै कमजोरी नरहेको दाबी गर्दै आएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्