पाकिस्तानमा बाढीका कारण ३० लाखभन्दा बढी बालबालिका जोखिममा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पाकिस्तानको हालै आएको बाढीका कारण ३० लाखभन्दा बढी बालबालिकालाई मानवीय सहायताको पर्खाइमा रहेका छन् । बाढी प्रभावित बालबालिकाहरू पानीजन्य रोगहरू र कुपोषणको बढ्दो जोखिममा समेत रहेको युनिसेफले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ बालकोषद्वारा जारी विज्ञप्तिमा प्रभावित क्षेत्रहरूमा बालबालिका र परिवारहरूको अत्यावश्यक आवश्यकताहरूलाई सम्बोधन गर्न सरकारी तथा गैर सरकारी संस्थाहरूसँग काम गरिरहेको जनाएको छ । तीन करोड मानिसहरूमध्ये लगभग एक करोड ६० लाख बालबालिकाहरू यस वर्षको बाढीबाट प्रत्यक्ष परोक्षरूपमा प्रभावित भएको बताइएको छ ।

बाढीमा ३५० भन्दा बढी बालबालिका र १,१०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् भने १,६०० भन्दा बढी घाइते भएका छन् । त्यसैगरी २ लाख ८७ हजार घरहरू पूर्णरूपमा र ६ लाख ६२ हजार घरहरू आंशिकरूपमा नष्ट भएका छन् । बाढीका कारण ठूला नदीहरूले आफ्नो मार्ग परिवर्तन गरेका छन् र किनारा भत्काएका छन् । बाढीले घर, खेत , सडक, पुल, विद्यालय, अस्पताल र सार्वजनिक स्वास्थ्य सुविधाहरू लगायतका महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेका छन् ।

युनिसेफका पाकिस्तान प्रतिनिधि अब्दुल्लाह फदिलले प्राकृतिक प्रकोपमा बालबालिकाहरू सधैं सबैभन्दा जोखिममा पर्ने बताउँदै बाढीले बालबालिका र परिवारहरूमा जटिलता निम्त्याएको र स्थिति अझ खराब हुन सक्ने बताएका छन । उनले युनिसेफले बिभिन्न सरकारी र गैरसरकारी संस्थासँग मिलेर काम गरे पनि बालबालिकाको आधारभूत आवश्यकतालाई यथाशीघ्र सम्बोधन गर्न अझ थप पहल आवश्यक पर्ने बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्