कैलालीका बाढीपीडितको सडकमा बास

Ad
  • कालोपाटी सम्बाददाता

सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ । बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट विस्थापित भएका छन् । बाढीले कैलालीको भजनीमा सबैभन्दा बढी परिवार विस्थापित भएका छन् । भजनीमा बाढीका कारण दुई हजार तीन सय परिवार विस्थापित भएका नौ सय बढी परिवार सडकमा बसिरहेका पालिकाले जनाएको छ ।

टीकापुर नगरपालिकामा तीन सय १६ घर डुबानमा परेका छन् । वडा नम्बर ६ मा दुई सय २६ र ७ का ९० गरी तीन सय १६ घर डुबानमा पर्दा दुई सय ३० परिवार विस्थापित भएका छन् । उनीहरुलाई उच्च घर, उच्च सडक तथा आफन्तकामा बस्ने व्यवस्था गरिएको छ ।

जानकी गाउँपालिका–४ र ७ मा बाढीले असर गरेको छ । त्यहाँ एक सय १५ घरपरिवार विस्थापित भई उच्च घरमा बसिरहेका र उनीहरुलाई तत्कालका लागि पालिकाले सुख्खा खानाको व्यवस्था गरेको छ ।

बाढीले सबैभन्दा बढी क्षति भजनीमा गरेको छ । भजनीकी राजकुमारी चौधरीको परिवार तीन दिनदेखि हुलाकी सडकमा छ । उहाँहरु बच्चासहित सडकमा हुनुहुन्छ । सडकको बसाईं कष्टकर भएको उनी बताउछन्  । “तीन दिनदेखि पानीमात्र खान पाइएको छ, घरमा भएको सबै खाद्यान्न बाढीमा भिज्यो होला”, उनी भन्छन् , “बोकेर ल्याउन पनि पाइएन, अब जानसक्ने अवस्था पनि छैन । यहाँ बच्चाहरु भोकले आत्तिएका छन् ।”

छविराम पोखे्रलको परिवार पनि तीन दिनदेखि सडकमा छ । गाउँ पूरै जलमग्न भएपछि पोखेरेल र उहाँका छिमेकी ज्यान जोगाउन सडकमा आएका हुन् । “बाढी गाउँ पसेपछि ज्यान जोगाउन बस्तुभाउसहित सडकमा आयौँ”, उनी भन्छन् , “पहिल्यै बाढी आउनसक्छ भनेकाले भाग्न सक्यौँ, घर कुन अवस्थामा छ थाह छैन ।”

बाढी आएका कारण भजनी–३ की गीता बजगाईं साना बच्चाका आमा र गर्भवतीलाई कठिन भएकाले सहयोगीलाई सहयोग गरिदिन आग्रह गर्छन । “गर्भवती तथा बच्चामा आमा समस्यामा छन्”, उनी भन्छन् , “पानीमात्र खाएर बच्चाले कहाँ मान्छन् ? रकम भएकाले चाउचाउ, चिउरा मगाएका छन्, बच्चाहरुले खान मानेका छैनन् ।”

वडा नं ३ कै रतरानीदेवी चौधरी बाढी आएपछि हुलाकी सडकमा बसिरहेका छन्  । उनको दुई वर्षको बच्चासहित दुई बच्चा साथमा छन् । उनी बच्चासहित सडकमा भुइँमै बसेका छन् । रतरानीदेवीलाई बच्चाले निकै सताएको छ । “भुइँमा दुई रात सुतियो, दुई बच्चा छन्, घाम, पानी र लामखुट्टेले सताए”, उउनी भन्छन् , “भोकभोकै, बच्चाको पीडा, सडकको बास दुई वर्षजस्तै भएको छ ।”

त्यसैगरी भजनी नगरपालिका–८ का खेमराज जैसी र उनका छिमेकी पनि घर छोडेर सडक र आफन्तकहाँ आश्रय लिइरहेका छन् । बाढी प्रभावित बस्तुभाउसहित सडकमा बसिरहेका छन् । काढाढिककै सपना विकको १२ जनाको परिवार पनि बाढीका कारण सडकमै छ ।

भजनी नगरपालिकाको स्वास्थ्य शाखाले विस्थापित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन थालेको छ । स्वास्थ्यकर्मी सुरज केसीले प्रभावित क्षेत्रमा नागरिकलाई रुघाखोकी, झाडापखाला, खुट्टा पाकेका, एलर्जीको समस्या देखिएको बताए । “जहाँ जहाँ विस्थापित बसेका छन्, त्यहाँ हामीले शिविर स्थापना गरेर उपचार थालेका छौँ”, उनी भन्छन् , “स्वास्थ्यकर्मी औषधिसहित खटेका छौँ ।”

बाढीबाट प्रभावित तथा विस्थापितलाई टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले पनि तयारी खाना, पानीको व्यवस्था गरेका छन् । यी पालिकामा भएका विस्थापितलाई सामूहिक ‘मेस’ चलाएर खाना खाने व्यवस्थालगायतका कार्यपालिकाबाट भइरहेका बताइएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्