सुन्तला उत्पादनमा वृद्धि हुँदा स्याङ्जाका किसान उत्साहित, दुई करोड रुपैयाँको सुन्तला बिक्री

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिका-७ सिरौँसाका किसान सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेकाकारण सिरौँसामा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो ।

सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष दुई करोड रुपैयाँको सुन्तला बिक्री भएको र यस वर्ष अघिल्लो वर्षको तुलनामा ५० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादनमा वृद्धि भएको जानकारी दिएका छन् । उनले भने, ‘२०७० देखि यहाँ सुन्तला पकेट क्षेत्र घोषणा गरेर ‘सुन्तला पकेट क्षेत्र’ कार्यक्रम सञ्चालन गरिएको छ । यहाँको सुन्तला पकेट क्षेत्रमा ६० कृषक छन् । यहाँ उत्पादित सुन्तला, काठमाडौँ, बुटवल, पोखरा, कावसोती, इटहरी, धादिङ, इनरुवालगायतका जिल्लामा निर्यात हुने गरेको छ ।’

त्यस्तै, कृषि ज्ञान केन्द्र स्याङ्जा, सुन्तला सुपरजोन स्याङ्जा, बाली संरक्षण कार्यालय पोखराले सिरौँसामा सुन्तलासम्बन्धी प्रशिक्षण, अनुदान, परामर्श, बीउबिजनमा सहयोग गर्दै आएको छ । उक्त निकायले पक्की ट्याङ्की, प्लास्टिक ट्याङ्की, प्लास्टिक पोखरी निर्माण गरिदिएका छन् । साथै, सुन्तला आईपिएम पाठशालासमेत सञ्चालनमा गरेका हुन् ।

अध्यक्ष भण्डारीका अनुसार त्यहाँका ९० प्रतिशत कृषकको मूख्य पेसा नै सुन्तला उत्पादन हो । उनले भने, ‘सिरौँसाका अधिकांशको रोजीरोटी सुन्तलाले नै चलेको छ । यस क्षेत्रमा सुन्तला उत्पादनको अत्यन्त राम्रो सम्भावना भएकाले युवा विदेश छोडेर सुन्तलाखेतीतर्फ लागेका छन् ।’ उनले गल्याङ नगरपालिकाले सुन्तला उत्पादक कृषकलाई सहयोग नगर्दा बजारीकरणमा समस्या भएको गुुनासो गरे । त्यहाँ उत्पादित सुन्तला एक क्विन्टल बराबरको सुन्तला ७ हजार रुपैयाँसम्ममा ठेकेदारले किन्छन् भने विभिन्न व्यापारीले ग्रेडिङका आधारमा प्रतिकिलो ५० देखि ८० रुपैयाँमा खरिद गर्ने गर्छन् ।

सिँचाइ, बिरुवा, बाली उपचार, अनुदान, बजारीकरण, परामर्शलगायतका धेरै विषयमा नगरपालिकाले सहयोग गर्ने ठाउँ छ । भण्डारीले भने, ‘सिँचाइको चरम अभावका कारण हुनुपर्ने जति सुन्तला उत्पादन भएको छैन, सिँचाइको सुविधा मात्र भए ५० प्रतिशतले उत्पादन बढाउन सकिन्थ्यो ।’

अध्यक्षले जिल्लामै सिरौँसा सुन्तला उत्पादनका लागि प्रख्यात भए पनि नगरपालिका अनुगमनसमेत गर्न नआएको गुनासो गरेका छन् । यहाँका कृषकले व्यक्तिगतरुपमा सुन्तला बिक्री गर्दै आएका छन्, बजारको एकरुपता छैन, जसका कारण धेरै किसान ठेकेदार र व्यापारीबाट ठगिँदै आएका छन्  । उनले भने, ‘सबै गाउँलेको घरखर्च सुन्तला बेचेरै चलेको छ, सुन्तला व्यवसायमा लाग्ने किसान निक्कै उत्साहित छन्, धेरैले सुन्तला नै बेचेर छोराछोरी पढाउने, दुईचार रुपैयाँ जम्मा गर्ने गरेका छन् ।’

सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका सचिव हरिप्रसाद भण्डारीले सुन्तला उत्पादन अन्य खेतीभन्दा दश गुणा आम्दानी दिने व्यवसाय भएको दाबी गर्दै किसानको आवश्यकताका आधारमा सरकारको सहयोग प्राप्त भएमा देशको अर्थतन्त्र विकासमा महत्वपूर्ण सहयोग पुुग्ने बताएका छन् ।

यस्तै,  मिलीजुली सुन्तला पकेट सञ्चालक समितिका अध्यक्ष युवराज सापकोटाले ७० घरधुरीका किसानले एक करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको दाबी गरे । उनले अघिल्लो वर्ष पनि ९० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको दाबी गरेका हुन् । सापकोटाले बर्सेनि मनहरी र सिरौँसामा ठेकेदारले किसानलाई ठग्ने गरेको गुनासो गरे ।

उनले भने, ‘ठेकेदारसँग ठूलो परिणममा सुन्तला लैजाने सम्झौता हुन्छ । ठेकेदारले फलानो दिनमा आउँछु भनेर सुन्तला टिप्न लगाउँछन्, हामीले सुन्तला टिप्छौँ । आधा मात्र पैसा लिएर ठेकेदार आउँछ, सुन्तला नलैजा भनौँ भने टिपिसकेको सुन्तला बिग्रने डर लैजाभन्दा ठगिने डर ।’ अध्यक्ष सापकोटाले सात वर्षको अवधिमा करिब १५ ठेकेदारले सुन्तलाको आधा पैसा मात्र तिरेर बेपत्ता भएको जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्