महिलालाई पत्रकारितामा टिक्ने वातावरण बनाउनुपर्छ: मन्त्री शर्मा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई पत्रकारितामा टिक्ने वातावरण बनाउनुपर्ने बताएकी छिन् । प्रेस काउन्सिलको आयोजनामा दाङको भालुवाङमा सोमबार सुरु भएको लुम्बिनी प्रदेशस्तरीय पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनीन्, ‘महिला पत्रकार लामो समयसम्म पेसामा टिक्न नसक्ने समस्या छ । तालिममा सहभागीले दिएका सुझावलाई नीतिगत तहबाट सुधार गर्न सरकार तयार छ । महिलालाई पेसामा टिकाइराख्न गर्नुपर्ने क्षमता अभिवृद्धिसँगै अवसरहरु सृजना गर्नुपर्छ ।’

यस्तै, हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने प्रावधान भए पनि पत्रकारितामा हाल २० प्रतिशत मात्रै सहभागिता रहेको छ । महिलाको सहभागिता अझै बढाउनुपर्ने शर्माले बताएकी छिन् । मन्त्री शर्माले महिला पत्रकारका उत्तराधिकारी उत्पादन गर्नतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिईन् । उनले सञ्चारसम्बन्धी विभिन्न ऐन निर्माण तथा संशोधनको तयारी रहेकाले सुझाव दिन पनि सहभागीलाई अनुरोध गरेकी छिन् ।

प्रविधिलाई सही तरिकाले सदुपयोग गर्नतर्फ सबैले ध्यान दिनुपर्ने मन्त्री शर्माको भनाई थियो । तीन दिनसम्म सञ्चालन हुने तालिममा साइबर शिक्षालाई पनि समावेश गर्नुपर्ने उनको भनाई छ । शर्माले यस्ता क्षमता वृद्धिसम्बन्धी तालिमलाई जिल्लाजिल्लामा सञ्चालन गरेर व्यापक सहभागिता बनाउने गरी तयारी गरिने जानकारी दिएकी छिन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्