वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्छौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१औँ वार्षिकोत्सवका अवसरमा ललितपुरको खुमलटारमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले विज्ञान प्रविधिको विकासका लागि सरकारले विशेष कोषको स्थापना गरिसकेको जनाउँदै त्यसबाट अनुसन्धानमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले भने, ‘विज्ञान तथा प्रविधि विकासका लागि सरकारले १ अर्ब रुपैयाँको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ । केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने छ ।’

विज्ञान तथा प्रविधिका क्षेत्रमा नास्टका वैज्ञानिकहरुले दिएको योगदानका बारेमा आफूले नजिकबाट नियाल्ने मौका पाएको उल्लेख गर्दै उनले मुलुकमा यस क्षेत्रको क्षमता विकासमा तीव्रता आएको बताएका छन् । प्रधानमन्त्री दाहालले कार्यक्रममा भने, ‘सरकारले तपाईँहरूले अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेका छैनौँ । सरकारका पनि विभिन्न बाध्यता हुँदा रहेछन् । म आफैँ पनि विज्ञानको विद्यार्थी भएकाले विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसक्नुका कारण तत्वबारे जानकार छु ।’

त्यस्तै, आगामी सोह्रौँ पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिका क्षेत्रको विकासका लागि अख्तियार गर्नुपर्ने रणनीतिका बारेमा गहन छलफल गरेर रणनीतिक योजनाको खाका तयार गर्न दाहलले आग्रह गरेका छन् । उनले भने, ‘सोह्रौँ योजनामा के कस्ता कार्यक्रम समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव हुन्छ गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्न उपयुक्त हुन्छ । देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी सरकारको सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाको खाका तयार गर्न अनुरोध गर्छु।’

प्रधानमन्त्री दाहालले उक्त अवसरमा नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवनको उद्घाटन गरेका थिए । साथै, कार्यक्रममा नास्टका वैज्ञानिक तथा प्राविधिकलाई पुरस्कृतसमेत गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्