ठमेलको चोकमा सिसि क्यामरा जडान कार्य सुरु, हाल ८० क्यामरा जडान

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पर्यटकीय गन्तव्य ठमेलका चोकमा सिसि क्यामरा जडान कार्य सुरु भएको छ । ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकमा सिसी क्यामरा जडान गरेको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्तिसुरक्षा बलियो बनाइ यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसी क्यामरा जडान सुरु गरेको जानकारी दिएका छन् । उनले ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवती बहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ८० सिसी क्यामरा जडान गरेको बताएका छन् । उनले भने, ‘चार ठूला क्यामरासहित एक सय १२ सिसी क्यामरा जडान गर्नेगरी काम भइरहेको छ । हाल ८० क्यामरा जडान गर्ने कार्य सम्पन्न भएको छ ।’

यस्तै, ठमेल क्षेत्रभित्र सिसी क्यामरा जडान गर्न यसअघि काठमाडौँ महानगर प्रहरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सिसी क्यामराको अध्ययन गरेका थिए । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि सिसि क्यामराले सहयोग पुग्ने बताएका छन् ।

ठमेल क्षेत्रको विकासका लागि विसं २०४७ मा स्थापना भएको परिषद्मा ठमेलभित्रका २ हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । उक्त परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

त्यस्तै, परिषद्ले ठमेलभित्रका प्रत्येक गल्लीलाई कालोपत्र गर्नका लागि सम्बन्धित निकायसँग पहलकदमी लिँदै आएको छ । साथै, प्रत्येक बिजुलीका खम्बामा सडक बत्ती जडानको कामलाईसमेत अगाडि सारेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्