डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक जोखिमपूर्ण डुङ्गा यात्रा गरी रमाउने गरेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका-९ मा अवस्थित रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले तालमा डुङ्गा चढेर वारपार गरी रमाउने गरेका हुन् ।

पर्यटकले डुङ्गामा सवार गर्दा सुरक्षाका लागि प्रयोग गरिने लाईफ ज्याकेट पुरानो भएर झुत्रा हुँदा पनि प्रयोग भइरहेकाले पर्यटकले जोखिम मोलेर तालको यात्रा गर्न बाध्य छन् । चितवनबाट रारा तालमा घुम्न आएका र्‍याफ्टिङ गाइड सुकबहादुर गुरुङले भने, ‘तालमा डुङ्गाबाट यात्रा गर्नेले ज्यानको जोखिम मोलेर गर्नुपर्ने रहेछ । यात्रुले प्रयोग गर्दै आएका लाइफ ज्याकेट सबै पुराना भइसकेका छन् । एक पटकमा दश जनासम्म बोक्ने डुङ्गाको क्षमता भए पनि यहाँ १४-१६ त कहिलेकाही २० जनासम्म राखेर सवार गरिएको छ ।’ क्षमता भन्दा बढी यात्रु सवार हुँदा दुर्घटनाको जोखिम बढेको गुरुङले बताएका छन् ।

उनले भने, ‘लाइफ ज्याकेट कुनैका खोल च्यातिएका, पेट र छातिमा बाँध्ने फिता नभएका अवस्थामा छन् । यसले कुन बेला दुर्घटना निम्ताउँछ । सम्बन्धित निकायले बेलैमा यसतर्फ ध्यान दिनुपर्ने जरुरी छ ।’ यात्रुलाई भरपर्दो र गुणस्तरीय लाइफ ज्याकेट नहुँदा भगवानको भरोसामा तालमाथि यात्रा गर्नुपर्ने बाध्यता रहेको र्‍याफ्टिङ गाइड गुरुङको भनाइ थियो ।

‘म ८० जनाको टिम लिएर रारा आउँदैछु । यस्तो अवस्था देखे के भन्लानरु समय मै लाइफ ज्याकेट मध्यवर्तीक्षेत्र वा निकुञ्ज कार्यालयले फेर्नुपर्ने देखिएको छ’, पर्यटन घुमाउन ल्याउनु पूर्व व्यवस्थापनका लागि रारा पुगेका पर्यटन व्यवसायी डम्बर थापाले भने । यहाँका ज्याकेट तीन वर्षसम्म प्रयोग गर्न मिल्ने खालका रहेछन् भन्दै उनले यात्रुलाई सान्त्वना दिने खालका मात्रै रहेका बताएका छन् । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये दिनमा एकसय भन्दाबढीले तालको मिलिचौरदेखि हुटुसम्म डुङ्गा चडेर यात्रा गर्ने रारा राष्ट्रिय मध्यवर्ती क्षेत्र विकास समितिले जनाएको छ । नाम बताउन नचाहने डुङ्गा चालक भन्छन्, ‘यहाँका डुङ्गा चालकले बिना तालिम अनुभवका आधारमा चलाउँदै आएका छौँ । लाइफ ज्याकेटका बारेमा निकुन्ज र मध्यवर्ती समितिलाई जानकारी गराएका छौँ तर सुनुवाइ भएको छैन ।’

समितिका कार्यालय सचिव लोकेन्द्र बमले कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ७० वटा लाइफ ज्याकेट र आठ डुङ्गा रहेका जानकारी दिएका छन् । उनले भने, ‘निकुञ्जले ज्याकेट खरिद गरेको छरसात वर्ष पुगिसकेको छ । कार्यालयले पनि यात्रुको सुरक्षाका लागि लाइफ ज्याकेटसम्बन्धी गुणस्तरीय चेकजाँच गरेको छैन ।’ डुङ्गाको सङ्ख्या कम भएकाले बढी यात्रु राख्नुपर्ने बाध्यता रहेको सचिव बमको भनाइ थियो ।

निकुञ्जका प्रमुख राजु घिमिरेले केही कुरामा सत्यता भए पनि बाहिर आए जस्तो सबै सत्यता नभएको बताएका छन् । सेवाग्राहीबाट आएका गुनासोलाई सकारात्मक सुझावका रुपमा लिँदै छिटो गुनासो सम्बोधन गरी रारा घुम्न आउने पर्यटकलाई भरपर्दो र सुरक्षित यात्राको अनुभूति दिलाउने उनको भनाइ थियो । त्यहाँ रहेका कमिकमजोरी क्रमश:सुधार गर्दै जाने निकुञ्जका मुख्य संरक्षण अधिकृत राजु घिमिरेले प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, गत साउन १ गतेदेखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक ४ हजार ४ सय ९०, सार्क मुलुकका २६ अन्य र विदेशी मुलुकबाट ९५ जनासहित ४ हजार ६ सय ११ पर्यटकले रारा भ्रमण गरेको राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्