कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन: उपसभामुख रानामगर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताएकी छिन् । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ ‘नीति तथा संस्थागत संरचनाको विश्लेषण’ विषयमा आधारित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा उपसभामुखले यस्तो बताएकी हुन् ।

उनले हिंसासम्बन्धी कानुन बनेका भए पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन नसकेनसकेको बताएकी छिन् । हिंसा अन्त्यका लागि सोच, व्यवहार र मानसिकतामा परिवर्तन आउनुपर्ने उनको भनाइ थियो । उनले भनिन्, ‘सोच, व्यवहार र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन । बनेका र भएका महिला हिंसासम्बन्धी कानुन पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन सकेका छैनन् । समाज हिंसामुक्त हुन सकेको छैन । बालबालिकासम्बन्धी पनि पर्याप्त कानुन बनेका छैनन् । हरेक समस्यामा महिलाले लड्नु भिड्नुपर्ने अवस्था छ । हरेक पल काम गरेर प्रमाणित गर्नुपर्छ ।’ महिला नेतृत्वमा नपुगेसम्म हिंसा अन्त्य हुँदैन भन्दै घरबाट नै महिला हिंसा अन्त्य हुनुपर्नेमा उनले जोड दिएकी छिन् ।

त्यस्तै, उपसभामुख रानामगरले भवन र टावर बन्दैमा विकास भयो भन्न नमिल्ने उल्लेख गर्दै महिलाको डिजिटल प्रविधिमा पहुँच पुर्याउन सबैको साथ चाहिने बताएकी छिन् । महिलाले उत्पादन गरेका सामग्रीको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले महिलाको क्षमता अभिवृद्धिका लागि सरकारले लगानी गर्नुपर्ने बताएकी छिन् ।

महिला अधिकारका लागि राष्ट्रिय अभियानकी अध्यक्ष सरिता घिमिरेका अनुसार सम्मेलनमा ४२ जिल्लाका महिलाको प्रतिनिधित्व रहेको थियो । विसं २०६२ देखि सञ्चालित उक्त संस्थामा हाल ५० हजार महिला आबद्ध रहेका उनले जानकारी दिएकी छिन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्